काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २१औँ वार्षिक साधारणसभा डाकेको छ। 

बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १३.१६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो कार्य अगाडि बढाउन सम्पूर्ण कार्य गर्ने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पनि स्वीकृति गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।