काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ उत्साहजनक प्रगति हासिल गरेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा चालु आबको सोही अवधिमा बैंकको खूद नाफातर्फ ११०.४१ प्रतिशतको प्रगति हासिल भएको हो । 

अघिल्लो वर्ष १७ करोड ५७ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ३६ करोड ९८ लाखको उचाईमा पुगेको हो । 

बैंकले सोमबार जारी गरेको बित्तीय विवरण अनुसार खूद ब्याज आम्दानीतर्फ पनि कमालकै प्रगति हासिल भएको छ । ३६ करोड १ लाख रुपैयाँको खूद ब्याज आम्दानीलाई बढाएर बैंकले ६२  करोड ७२ लाखको उचाईमा पुर्याएको छ । 

यो बैंकको चुक्तापूँजी ३ अर्ब ३७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । 

बैंकले ६९ अर्ब ९९ करोड निक्षेप संकलन गरी ५८ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ अर्ब ७ करोड निक्षेप संकलन गरी ३८ अर्ब १२ करोड कर्जा प्रवाह भएको थियो । 

बैंकले निस्क्रिय कर्जाको दरलाई भने केही घटाएको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको एनपीएल यो वर्ष १.५९ प्रतिशतमा झरेको हो । 

बैंकको प्रति सेयर आम्दानी ४७.६१ रुपैयाँ, प्रति सेयर नेटवर्थ २३०.४७ रुपैयाँ  र मूल्य आम्दानी अनुपात २३.११ गुणा कायम भएको छ ।