काठमाण्डौ । धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिक्रीको अनुमति दिएको छ । 

यो बैंकले ७ वर्ष अवधिको ‘एसबिएल डिवेञ्चर–२०८२’ निश्कासन गर्ने अनुमति पाएको हो । 

रु. १ हजार दरका ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्।

यो बैंकको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ ।

बैंकले ४ लाख ५० हजार इकाई सर्वसाधारणका लागि र १८ लाख इकाई निजी क्षेत्रका लागि सुरक्षित गरेको छ । 

सिद्धार्थ बैंकले जारी गर्न लागेको ऋणपत्रलाई ‘इक्रा एनपि ट्रिपल बि प्लस’को रेटिङ दिएको छ । यसले मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्दछ ।

पछिल्लो समय ऋणपत्र निश्कासनका लागि वाणिज्य बैंकहरु आकर्षित हुँदै गएका छन् । नेपाल राष्टबैंकले मौद्रिक नीतिमार्फत ऋणपत्र निश्कासन सम्बन्धी निर्देशिकामा केही लचिलो व्यवस्था गरिदिएपछि एकपछि अर्को ऋणपत्रमा लगानीको अवसर सिर्जना भएको हो । 

यसअघि एनआइसी एसियाले ३ वटा ऋणपत्र जारी गरिसकेको छ भने चौथो ऋणपत्र समेत जारीका लागि आवेदन दिएको छ । यस्तै, सानिमा बैंकले पनि ऋणपत्र बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । 

ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले बैंकहरुले पछिल्लो समय ऋणपत्रलाई रुचाउन थालेका हुन्।