काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिद्धार्थ बैंक लिमीटेडले वितरणयोग्य मुनाफामा २१.३३ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७१ करोड ७४ लाख यस्तो नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ८७ करोड कमाएको हो । 

बैंकले ८६ करोड ९३ लाखमा सीमित खूद नाफालाई बढाएर १ अर्ब ६ करोड माथिको विन्दू चुमाएको छ भने १ अर्ब २४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर १ अर्ब ५२ करोडको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकले २ अर्ब २८ करोड खूद ब्याज आम्दानी गरेको छ, जबकि अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ५३ करोडमा सीमित थियो । यसरी खूद ब्याज आम्दानीतर्फ बैंकले ४९.२० प्रतिशतको छलाङ मारेको देखिएको छ । 

यो अवधिमा बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरी ९७ अर्ब ५० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८५ अर्ब ५६ करोड निक्षेप संकलन गरी ७६ अर्ब ९१ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको रिजर्बकोषमा सामान्य मात्र बढोत्तरी भएको देखिएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ५ अर्ब १६ करोड रहेको कोषमा ३ करोड थपिएर ५ अर्ब १९ करोड भएको हो । 

बैंक व्यवस्थापन खराब कर्जालाई नियन्त्रण गर्न असफल देखिएको छ । अघिल्लो वर्ष १.५० प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर समीक्षा अवधिसम्म १.६४ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ७.४२ प्रतिशत, सीडी रेसियो ७८.७७ प्रतिशत, बेस रेट १०.५९ प्रतिशत कायम भएको छ । 

यो अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७० पैसा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २४ रुपैयाँ ७१ पैसा थियो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५८.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.८६ गुणा र तरलता अनुपात २१.०६ प्रतिशत कायम भएको छ ।