काठमाण्डौ । सिभिल बैंक र नेशनल बैंकिंग इन्स्टिच्यूट(एनबीआई)बीच बित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने बिषयमा एक सम्झौता भएको छ । 

बिहीबार बैंक र इन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा सिभिल बैंकको  तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एनबिआइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना  र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एपको बारेमा जानकारी गराई  ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्न प्रेरित गर्नेछ ।

साथै बैंकले उक्त एपमार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समूह, किसान, रेमिट्यान्समाआश्रित परिवारहरु, शिक्षक–शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । 

एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।