काठमाण्डौ ।  इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स(आइएलएफसी) र सिभिल बैंकबीचको मर्जर अन्तिम अवस्थामा आएर भाँडिने संभावना बढेको छ । 

आइएलएफसीका प्रोमोटरहरुको लिखित सम्झौताविपरीतको अड्को र कर्मचारीहरुको तीव्र चलखेलका कारण सेयर स्वाप रेसियोमा कुरा बाझिएपछि अन्तिम अवस्थामा पुगेको मर्जर भाँडिने संभावना बढेको हो ।

यी दुई संस्थाबीच २०७२ माघ ११ गते मर्जरमा जाने सम्झौता भएको थियो ।  आइएलएफसीमा स्वार्थ समूह हाबी भएका कारण यसअघि तीनवटा संस्थासँग भएका मर्जर प्रक्रिया समेत एलओआई पाइसकेको अवस्थामा भाँडिएको थियो । राष्ट्रबैंकले एकपछि अर्को गर्दै मर्जर भाँडिएपछि आइएलएफसीलाई ६ महिनासम्म मर्जरको  कुनै पनि प्रक्रियामा सामेल हुन नपाउने गरी प्रतिबन्ध नै लगाएको थियो । प्रतिबन्धको बाबजुद सिभिल बैंकले सो संस्थालाई किन्ने इच्छा देखाएपछि तीव्र लबिङका कारण राम्रो उद्देश्यका लागि भन्दै तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सिभिलसँग मर्जमा जान आइएलएफसीलाई अनुमति दिएका थिए । 

अनुमति पाए लगत्तै दुवै संस्थाबीच सेयर स्वाप रेसियोको बिषयमा छलफल र कुराकानी भएको थियो । सो क्रममा दुवै संस्थाबीच १०० : ८० को अनुपातमा सेयर स्वाप रेसियो टुंग्याउने लिखित सहमति थियो । तर मर्जर प्रक्रिया टुंगिने बेलामा आइएलफीसीका प्रोमोटरहरुले सिभिल बैंककै हाराहारीमा सेयर स्वाप रेसियो खोज्न थालेपछि महिनौको मेहेनत खेर जाने र मर्जर भाँडिने अवस्थामा पुगेको हो । 

आइएलएफसीस्थित एक स्रोतका अनुसार सिभिल बैंकसँग मर्जरको एमओयू गर्दाको रेटमा प्रिमियम अमाउण्टबाट आउने बोनस सेयर सिभिलका हालका सेयरधनीले मात्र पाउने भन्ने बुँदा संलग्न थियो । तर मर्जर टुंग्याएर संयुक्त कारोबार सुरु गर्ने बेलामा आइएलएफसीका प्रोमोटरहरुले सिभिललाई झै आफूहरुले पनि प्रिमियम अमाउण्टबाट आउने बोनस सेयर पाउनुपर्ने अड्को थापेपछि सहज ढंगले अगाडि बढेको मर्जर प्रक्रियामा ब्रेक लागेको छ । 

सिभिल र आइएलफीसीबीचको मर्जर सम्झौता भएपछि दुवै बैंकका संचालक समिति अध्यक्ष हात मिलाउँदै । 

....................................................................................................................

‘एलओआईमा एउटा कुरा साइन गरेर अहिले अड्को थाप्ने काम भयो ।’ आइएलफसीका एक उच्च कर्मचारीले बिजशालासँग भने–‘लिखित रुपमा साइन पनि भइसक्यो, सर्टेन रेट पनि आइसकेको छ । यस्तो बेलामा हाम्रै संस्थाका प्रोमोटरहरुले कुरा बिगारिहेका छन् ।’ सिभिलका सेयरधनीलाई झै आइएलफसीका प्रोमोटरहरुलाई पनि बोनस सेयर दिने हो भने प्रति सेयरमा ७ देखि ८ रुपैयाँसम्मको रकम फरक पर्छ, जुन प्रोमोटरहरुको हकमा करोडौं रुपैयाँ फरक पार्ने अमाउण्ट हो । 

लिखित सम्झौता विपरीत मर्जर भाँड्ने उद्देश्यले अगाडि बढेकाहरुसँग सिभिलका संचालकहरुले नेगोसिएशनको प्रयास गरिरहेका बुझिएको छ । ती कर्मचारीले भने–‘आइएलफसीका प्रोमोटर पनि मान्ने मनस्थितिमा छैनन् । असारभित्रमै मर्जर सफलतापूर्वक टुंगिने वा भाँडिने कुराको अन्तिम टुंगो लाग्छ ।’ मर्जरको एमओयूमा हस्ताक्षर गर्दा सिभिलको १०० कित्ता सेयर बराबर आइएलएफसीको ८० कित्ता हुने र त्यसमा ३ रुपैयाँसम्मको घटबढलाई मान्ने लिखित सहमति थियो । तर यो सहमति समेत फाइनान्सका प्रोमोटरहरु अहिले मान्दैनौ भनी हिँड्न थालेका छन् । 

आइएलफसी फाइनान्समा ५ परिवारको लगानी छ । एसके सिंह, प्रदीपजंग पाण्डे, डम्बरबहालुर मल्ल, रणबहादुर शाह लगायतको लगानी रहेको यो संस्था निकै पुरानो भएकोले चुक्तापूँजी २ अर्ब रुपैयाँ रहेको छ । १ सय बढी कर्मचारी छन् । कर्मचारीमा पनि १८ औं वर्षदेखि कार्यरतहरुको स्वार्थ पूरा नहुने र ठूलो बैंकमा गएर बिलय हुने अवस्था आएपछि केही स्वार्थी र पुराना कर्मचारीहरु समेत मर्जर भाँड्न सक्रिय रहेका स्रोत दाबी गर्छ । ‘हामी कनिष्ठलाई  हाम्रो संस्था ठूलो बैंकमा गएर मिसियोस् भन्ने चाहना छ ।’ आइएलएफसीका अर्का कर्मचारीले भने–‘तर वर्षौदेखि काम गरेर यो संस्थामा बाघ भएकाहरु सिभिलमा गएर बिरालो बन्नुपर्ने देखिएपछि प्रोमोटरहरुलाई उचालेर मर्जर नै भाँड्न सक्रिय देखिएका छन् ।’ 

१८ औं वर्षदेखि कार्यरतहरुको स्वार्थ पूरा नहुने र ठूलो बैंकमा गएर बिलय हुने अवस्था आएपछि केही स्वार्थी र पुराना कर्मचारीहरु समेत मर्जर भाँड्न सक्रिय रहेका स्रोत दाबी गर्छ ।

यसअघि यो संस्थाले ग्राण्ड बैंक(हाल प्रभूमा बिलय)सँग समेत मर्जरको प्रयास गरे पनि एलओआई आइसकेपछि भाँडिएको थियो । बैंक अफ काठमाण्डौसँग पनि यो संस्था मर्ज हुन खोजेको थियो । बीओकेसँग समेत मर्जरको एलओआई आई सकेर सेयर स्वाप रेसियोमै कुरा नमिलेपछि भाँडिएको थियो । ‘यसअघि तीन पटकसम्म मर्जर आफ्नै कारणले भाँडेको यो संस्था सिभिलसँग पनि अगाडि बढ्न सकेन भने राष्ट्रबैंकले यसलाई कालोसूचिमा राख्ने निश्चित देखिन्छ ।’ स्रोतले भन्यो–‘यसअघि पनि सामान्य कारबाही गरेको थियो, तर मर्जरको बाहानामा यो संस्था उम्कन सफल भयो ।’ 

मर्जरको बाहानामा आइएलएफसीले बित्तीय अनुशासन पनि कायम गरेको छैन । यो संस्थाले वार्षिक साधारणसभा नै नगरेको ३ वर्ष भइसक्यो, तर अझै पनि राष्ट्रबैंकले यसलाई कारबाही गर्न सकेको छैन । ‘हामी मर्जरमा जाँदैछौ भन्ने कारण देखाएर वार्षिक साधारणसभा लगातार नगर्दा हुनसक्ने कारबाहीबाट जोगिइरहेको देखिन्छ ।’

मर्जरको बाहानामा आइएलएफसीले बित्तीय अनुशासन पनि कायम गरेको छैन । यो संस्थाले वार्षिक साधारणसभा नै नगरेको ३ वर्ष भइसक्यो, तर अझै पनि राष्ट्रबैंकले यसलाई कारबाही गर्न सकेको छैन । ‘हामी मर्जरमा जाँदैछौ भन्ने कारण देखाएर वार्षिक साधारणसभा लगातार नगर्दा हुनसक्ने कारबाहीबाट जोगिइरहेको देखिन्छ ।’ स्रोतले भन्यो–‘सिभिल बैंकसँग मर्जर भाँडिएपछि यो संस्थाले मर्जरको पार्टनर भेट्न मात्र गाह्रो हुनेछैन, तीन वर्षसम्म वार्षिक साधारणसभा नगरेको बिषयमा समेत कारबाही भोग्नुपर्नेछ ।’

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) किशोर महर्जनले आइएलएफसीको मर्जर अन्तिम चरणमा पुगेको र असारसम्म मर्जर सकिने दाबी गरे । ‘आशा गरौं, सकारात्मक ढंगले नै मर्जर टुंगिनेछ ।’–उनले भने ।