काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९० करोड ४१ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा ७९.९० प्रतिशतको प्रगति हो । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ५० करोड २५ लाख रुपैयाँमा सीमित थियो । 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको संचालन मुनाफा पनि उच्च दरले बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६८ करोड १० लाख रुपैयाँ रहेको संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब ३० करोडको उचाईमा पुगेको हो । 

बैंक व्यवस्थापनले व्यवसाय बढोत्तरीमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म सिभिल बैंकको खूद ब्याज आम्दानी १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा बढेर २ अर्ब ४५ करोडको उचाईमा पुगेको छ । यसरी बैंकले खूद ब्याज आम्दानी ५९.३९ प्रतिशतले बढाएको छ । 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफ ४२ करोड ६८ लाख रुपैयाँ रहेको छ । 

बैंकको रिटेन अर्निङ पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४९ करोड ३७ लाखमा सीमित यस्तो अर्निङ बढेर ९४ करोड २५ लाखको उचाईमा पुगेको हो । 

यो अवधिमा बैंकले ९० अर्ब ७० करोड बढी निक्षेप संकलन गरी ८३ अर्ब ९३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८८ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी ७९ अर्ब ३ करोड बढी कर्जा परिचालन गरेको थियो । 

खूद नाफा ह्वात्तै बढेका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष समान अवधिमा ५.८१ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष १३.२८ रुपैयाँको उचाईमा पुगेको हो । 

बैंकले अघिल्लो वर्ष १.१३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर यो वर्ष ०.९९ प्रतिशतमा सीमित बनाउने सफलता पाएको छ । 

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ७.२१ प्रतिशत, सीडी रेसियो ९०.२० प्रतिशत, आधार दर ९.९४ प्रतिशत, मूल्य आम्दानी अनुपात १६.३४ गुणा, तरलता अनुपात २०.९१ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२७.५२ रुपैयाँ कायम भएको छ ।