काठमाण्डौ । सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिङको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले “लिडरशिप एकेडेमी नेपाल”सँग सहकार्य गर्न सम्झौता गरेको छ । 

“राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन”, अमेरिकासँग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधनको वृत्ति बिकासमा एक चिरपरिचित नाम हो । 

तसर्थ सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति विकासका लागि यस संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो । 

सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र “लिडरशिप एकेडेमी नेपाल”को तर्फबाट सिटिओ अरुण जोशीले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए । 

यसैबीच, सिभिल बैंकले केही महिना अगाडि ल्याएको “सम्मान बचत खाता” मा आकर्षक ब्याजको अलावा औषोधपचार खर्चमा रु एक लाखसम्म र दुर्घटना मृत्युमा रु सातलाखसम्मको बीमा सुबिधा प्रदान गरेको थियो । 

बैंकले “सम्मान बचत खाता’’ खोलेका ग्राहकहरुको औषोधपचार खर्चबापतको बीमा दाबी रकमको भुक्तानी गरेको छ । औषोधपचार खर्चको बीमा दाबी रकम बैंकद्वारा काठमाण्डौका रिकेश शाक्य, बिराटनगरका रायचन्द बोथारा र मनोज पोखरेल र लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरिएको थियो ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्तदुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकको ७३ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।