काठमाण्डौ । मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ४५.३० प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ६ करोड ४६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ४ करोड ६३ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा १ करोड ९७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ करोड ७२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि १ करोड ५३ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ३६ लाख ६८ हजार रुपैयाँ थियो ।

यस अवधिमा संस्थाले ६१ करोड १४ लाख रुपैयाँ सापटी लिई १ अर्ब २ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ३४ करोड ४ लाख रुपैयाँ सापटी लिई ५७ अर्ब ५२ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पनि संस्थाको चुक्ता पुँजी ११ लाख ४१ लाख रुपैयाँ नै थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा २७२.४८ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ५७ लाख ७ हजार रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर २ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी १४.३६ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ३८.६५ गुणा, प्रतिसेयर नेटवर्थ ११८.६३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९५३.१७ रुपैयाँ रहेको छ ।