काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि १२ प्रतिशतसम्म लाभांश वितरण गर्ने देखिएको छ।

मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ९ करोड ६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यो वितरणयोग्य मुनाफामा संस्थाको सेयर प्रिमियम १ करोड २३ लाख रुपैयाँ जोड्दा उक्त लाभांश वितरण गर्न सक्निे देखिएको हो। संस्थाको चुक्तापुँजी ८४ करोड ७८ लाख रुपैयाँ रहेको छ। 

चौथो त्रैमाससम्म संस्थाको खुद नाफा अघिल्लो वर्षको यही अवधिको तुलनासम्म १७.३१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा १५ करोड १४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर १२ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ।

संस्थाको सञ्चालन मुनाफा पनि १८.८८ प्रतिशतले घटेर १७ करोड ८८ लाख रुपैयाँमा खुम्चिएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म २२ करोड ४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.६८ प्रतिशतले बढेर ३० करोड ९५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २९ करोड ८५ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले ८ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले ७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार ३४.०३ प्रतिशतले बढेर १८ करोड ५६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भको आकार १३ करोड ८४ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा संस्थाको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने १४१.१८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष एनपीएल अनुपात ०.३४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ०.८२ प्रतिशत पुगेको छ। 

संस्थाले आधार दर भने घटाएर १०.०८ प्रतिशतमा सीमित बनेको छ। जुन अघिल्लो वर्ष १२.१२ प्रतिशत रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.७७ रुपैयाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा १८.०९ रुपैयाँले घटेको हो। 

पीई रेसियो १४.२२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४.०४ रुपैयाँ रहेको छ।