काठमाण्डौ । अमेरिकाको सिलिकन भ्याली बैंक अचानक अनपेक्षित पूँजी संकटको सामना गर्दै टाट पल्टिएको घोषणा भयो । शुक्रबार बिहान यो बैंक टाट पल्टिएको घोषणासँगै त्यहाँको केन्द्रीय बैंक र त्यससम्बद्ध नियामकहरुले यो बैंकलाई हाल नियन्त्रणमा लिएका छन् ।
अमेरिकाको एक प्रतिष्ठित बैंक अचानक टाट पल्टिएसँगै विश्वभरको वित्त बजारमा तहल्का मच्चिएको छ । आर्थिक मन्दीको सामना गरिरहेका विश्वभरका धनीदेखि गरीब मुलुकहरुमा खोलिएका बैंकहरुको भविष्य लगायतका विषयमा समेत चर्का बहसहरु सुरु हुन थालेका छन् ।
सन् २००८ को आर्थिक मन्दीको बेला टाट पल्टिएको ‘वासिङ्टन म्युचुअल’पछि अमेरिकी बैंकको सबैभन्दा ठूलो असफलता र खराब खबर सिलीकन भ्याली बैंक बन्न पुगेको छ ।
के कारणले टाट पल्टियो त सिलीकन भ्याली बैंक ?
यो बैंक सन् १९८३ मा स्थापना भएको थियो । पछिल्लो समय यो बैंकले आफूलाई टेक्नोलोजी क्षेत्रका स्टार्टअपहरुका लागि काम गर्ने विशेष वित्तीय संस्थाको रुपमा रुपान्तरण गर्यो । यसले लगभग आधा अमेरिकी उद्यम–समर्थित टेक्नोलोजी र स्वास्थ्य सेवा कम्पनीहरूमा फाइनान्सिङ गरेको छ ।
सिलीकन भ्यालीभन्दा बाहिर खासै चर्चा नभए पनि यो बैंक अमेरिकाको टप ट्वान्टीभित्र पर्ने बैंक हो । गत वित्त वर्षको अन्तसम्ममा यो बैंकको कुल सम्पत्ति २०.९ बिलियन डलर रहेको थियो ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न एक वर्ष पहिले ब्याजदर बढाउन थाल्यो। त्यहीँबाट यो बैंकको खराब दिनहरु सुरु भएको मानिन्छ ।
फेडको ब्याजदर बढाउने नीतिले त्यहाँका टेक्नोलोजीसँग सम्बन्धित स्टार्टअपहरुलाई अप्ठ्यारोमा पार्यो र उनीहरुले समयमै ऋण तिर्न नसक्दा बैंकको खराब कर्जा बढ्दै गयो, उच्च उधारो लागतले बैंकबाट लगानी गरिएका कम्पनी तथा बैंकको समेत सेयर मूल्यमा निकै ठूलो प्रभाव पर्दै गयो ।
उच्च ब्याजदरले दीर्घकालीन बन्डहरूको मूल्यलाई पनि घटायो जुन सिलिकन भ्याली र अन्य बैंकहरूले अतिकम, लगभग शून्य ब्याज दरको युगमा बढेको थियो। सिलीकन भ्याली बैंकको २१ बिलियन डलर पोर्टफोलियोको बण्डको इल्डिङ १.७९ प्रतिशत थियो, तर हाल १० वर्षे अवधिको ट्रेजरीको इल्ड बढेर ३.९ प्रतिशत पुगेको छ ।
यही बेला भेञ्चर क्यापिटलको विजिनेश सुक्न थाल्यो र टेक स्टार्टअपहरु सिलिकन भ्यालीमा राखिएको कोष निकाल्न बाध्य बने । यो क्रम बढ्दै जाँदा बण्डहरुमा ग्राहकहरुले गरेको लगानी तीव्र गतिमा झिक्ने अवस्था बन्यो र बैंकले सोच्दै नसोचेको घाटाको सामना गर्नुपर्ने अवस्था आइलाग्यो ।
बुधबार यो बैंकले निकै ठूलो परिमाणमा धितोपत्रहरु घाटै खाएर पनि बिक्री गरेको सूचना सार्वजनिक गरेको थियो । त्योसँगै उसले आफ्नो ब्यालेन्ससिटलाई सुधार्न घाटैमा भए पनि थप २.२५ बिलियन डलर बराबरको धितोपत्रहरु बिक्री गर्ने घोषणा समेत गरेको थियो । यो घोषणाले मुख्य–मुख्य भेञ्चर क्यापिटल फम्र्सहरुमा प्यानिक अवस्था बनाइदियो । त्यसपछि उनीहरुले आफू सम्बद्ध कम्पनीहरुलाई बैंकमा राखेको पैसा तथा लगानी झिक्न उर्दी नै जारी गरे ।
त्यसपछि बिहीबार बिहानदेखि नै बैंकको सेयरमूल्य तीव्र गतिमा घट्न थाल्यो । खासमा लगानीकर्ताहरुमा सन् २००८ कै आर्थिक मन्दी दोहोरिने हो कि भन्ने डरले घर गर्दा यो बैंकमा नसोचेको बिक्री चाप देखियो ।
शुक्रबार बिहानसम्ममा सिलीकन भ्यालीको सेयरमूल्य तीव्र गतिमा घटेपछि कारोबार बन्द गरिएको छ । यो बीचमा बैंक व्यवस्थापनसँग द्रूत गतिमा पूँजी बढाउनुपर्ने वा सेयर किन्ने खरीदकर्ता खोज्नुपर्ने विकल्पहरु थिए । तर, यी विकल्पमा प्रवेश गर्न नदिई क्यालिफोर्नियाका नियामकहरुले हस्तक्षेप गरे र बैंक बन्द गराए । अब फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले यो बैंकमा रहेको सर्वसाधारणको निक्षेप डूब्न नपाओस् भनेर सबै कुरा नियन्त्रणमा लिई काम गर्न थालिसकेको छ ।
यो निकायका अधिकारीहरुका अनुसार कमसेकम सोमबार बिहानसम्म बीमा गराएका सबै निक्षेपकर्ताले आफूले जम्मा गरेको निक्षेप पाउनसक्छन् वा निकाल्न सक्छन् । उनीहरुको निक्षेप सुरक्षित छ ।
यस्तै, बीमाको कभर नभएको डिपोजिटरहरुलाई समेत अर्को सातासम्ममा एड्भान्स लाभांशको रुपमा उनीहरुको निक्षेप फिर्ता गर्न थालिनेछ ।
-एजेन्सीको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19