काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको नयाँ प्रक्रिया सुरु गरेको छ । 

बैंकको कात्तिक १६ गते बसेको संचालक समितिको २४६ औं बैठकले मेगा बैंक छाडेका अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको थियो । उनले सेञ्चुरीसँग जनवरी १ देखि बैंकमा हाजिर हुने गरी करार सम्झौता गरेका थिए । 

तर, शाह नवील बैंकमा जाने भित्री तयारीका कारण उनले सेञ्चुरीको संचालक समितिलाई आफू बैंकमा हाजिर हुन असमर्थ रहेको भनी पत्र पठाएका थिए । त्यसपछि सेञ्चुरी बैंक अन्यौलमा परेको थियो ।

शाहले सेञ्चुरीसँगको सम्झौता भंग गर्दै नवीलमा जान खोजे पनि केन्द्रीय बैंकको कुलिङ पिरियड सम्बन्धी नयाँ व्यवस्थाका कारण नवीलको संचालक समितिले सोमबार मात्रै शाहको नियुक्ति खारेज गरिदिएको थियो ।

सेञ्चुरीले पनि केही ढिलो गरी शाहले हाजिर आउन नसक्ने भनी पठाएको पत्रको बिषयमा नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराउँदै सीइओ नियुक्तिको नयाँ प्रक्रिया थालनी गरेको प्रष्ट्याएको छ ।

बैंकस्थित स्रोतका अनुसार संचालकहरुले राम्रो काम गरेको र दोश्रो त्रैमासमा गज्जबको प्रगति गरेको भन्दै कामु सीइओ जीवन भट्टराईलाई नै सीइओको रुपमा कार्यभार सम्हालिदिन आग्रह गरेका छन् । तर, भट्टराई भने तत्काल सीइओको रुपमा जान चाहेका छैनन् । 

संचालक समितिले भट्टराईले कन्भिन्स गर्न सके उनी नै फुल सीइओ हुनेछन् भने भट्टराई  आफ्नो अडानप्रति दृढ बने भने बैंकले बाहिरबाट सीइओ ल्याउनेछ ।