काठमाण्डौ । सामूहिक लगानी कोष नियमावली विपरीत बैंकहरुको मुद्धती निक्षेपमा बढी पैसा राख्ने चार मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डले पहिलोपटक आर्थिक जरीवाना गरेको छ । 

बोर्डवाट योजना व्यवस्थापकहरुको स्थलगत तथा गैरस्थलगत निरीक्षणको क्रममा सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) को खण्ड (ङ) को व्यवस्था विपरीत बैंकको मुद्धती निक्षेपमा लगानी गर्ने मर्चेन्ट बैंकरलाई कारबाही गरिएको हो । 

बोर्डले नक्सालस्थित एनएमबी क्यापिटल लिमीटेड, बानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केट र डिल्लीबजारस्थित सीबीआइएल क्यापिटल लिमीटेडलाई ३५ हजार रुपैयाँको दरले आर्थिक जरीवाना गरेको छ । यस्तै, एनआइसी एशिया क्यापिटललाई भने २५ हजार रुपैयाँ जरीवाना लगाइएको छ । 

नियमावलीमा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दशप्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा तोकिएको छ । 

तर, यी चार मर्चेन्ट बैंकले भने त्यसविपरीत उनीहरुबाट संचालित सामूहिक लगानीकोषको तर्फबाट सीमा भन्दा बढी रकम बैंकहरुको मुद्धती निक्षेपमा राखेपछि यस्तो कारबाही गर्नुपरेको बोर्डको प्रष्टोक्ति छ । 

‘सिबिआइएल क्यापिटल लिमीटेड, एनआईसि एशिया क्याापिटल, लक्ष्मी क्यापिटल मार्केट लिमीटेड र एनएमबि क्यापिटल लिमीटेडले संचालन गरेको कोष योजनाहरुको लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरेको पाइएकोले धितोपत्र सम्बन्धी ऐनको दफा १०१ को उपदफा (७) बमोजिम, कानुनी व्यवस्था उल्लंघनको स्तरको आधारमा बोर्डबाट पहिलो पटक आर्थिक जरीवाना गरिएको छ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।