​– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहिला गणना गर्दै आएको तरलताको अवस्थालाई सीसीडी रेसियोबाट सीडी रेसियोमा गर्ने व्यवस्था गर्दैछ। यही कारणले केही बैंकरहरुले तरलतामा थप दबाब पर्ने र ब्याजदर बढ्ने तर्क गरिरहेका छन्। 

राष्ट्र बैंकका एक उच्च अधिकारीले भने बैंकरहरुको उक्त तर्क सही नभएको बताएका छन्। 

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार सीडी रेसियोको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुमा १०० अर्बबराबर क्रेडिट क्यापसिटी अर्थात ऋण दिने क्षमता बढाउने बताए। ‘यसले बैंकहरुलाई स्वदेशी र विदेशी ऋण लिन सहज तथा प्रोत्साहन हुनेछ’, उनल भने, ‘जसका कारण तरलता र ब्याजदरमा समस्या हुने छैन।’ 

सीडी रेसियोको व्यवस्थाले निक्षेपकर्ताले झन बढी ब्याज पाउने पनि पोखरेलको भनाइ छ। 

पोखरेलका अनुसार अहिले मुद्रास्फीति ५ प्रतिशतमा रहेको छ। तर, बचतकर्ताले बैंकमा राखेको निक्षेपमा त्योभन्दा पनि तल ४ प्रतिशतमात्रै ब्याज पाउने विषय नमिल्दो भएको उनले बताए। ‘निक्षेपकर्ताले मुद्रास्फीति दरभन्दा पनि बढी ब्याज पाउनुपर्छ’, उनले भने, ‘यसका लागि बैंकहरुले स्प्रेड रेट घटाएर भए पनि निक्षेपकर्तालाई ५ प्रतिशतभन्दा बढी ब्याज दिनुपर्छ।’ 

सहप्रवक्ता पोखरेलले हालको मौद्रिक नीतिमा व्यवस्था गरिएको सीडी रेसियो ९० प्रतिशतका बारेमा  उठेका प्रश्नको समाधान हुने गरी छिट्टै सर्कुलर आउने पनि जानकारी दिए। हाल गणना हुँदै आएको सीसीडी रेसियो भने ७८.२६ प्रतिशत रहेको छ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा २३ अर्ब ८६ करोड रुपैयाँबराबरको अधिक तरलता छ। अन्तरबैंकिङ ब्याजदर ४.०४८ प्रतिशत रहेको छ। 

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुले ४६ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४२ खर्ब २३ अर्ब कर्जा परिचालन गरेका छन्।