काठमाण्डौ। भारत सरकारले देशको सुरक्षामा खतरा रहेको भन्दै ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ।

सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो। ‘यी एपहरुले प्रयोगकर्ताबाट विभिन्न महत्वपूर्ण अनुमति लिने र प्रयोगकर्ताको संवेदनशील डाटा संकलन गरेको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसमा रियल–टाइम डाटा दुरुपयोग भइरहेको र विरोधी देशहरुका सर्भरहरुमा ट्रान्समिट भइरहेको पाइएको छ।’ 

यी ५४ एपमा स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा, गारेना फ्री फायर–इलुमिनेट, भाइभा भिडियो एडिटर, टेन्सेन्ट एक्सरिभर, ओन्मायोजी एरिना, एपलक र डुअल स्पेस लाइट समावेश छन्।

गत वर्ष जुनमा पनि भारतले देशको सार्वभौमसत्ता र सुरक्षामा खतरा रहेको भन्दै टिकटक, वीच्याट र हेलोलगायतका ५९ चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो। त्यतिबेला सूचना प्रविधि मन्त्रालयले आईटी ऐनको दफा ६९ ए अन्तर्गत एपहरु प्रतिबन्धित भएको जनाएको थियो।

चीनसँगको सीमा तनावका बीच भारतले सन् २०२० को मेदेखि अहिलेसम्म ३२१ चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ। 

गत वर्ष जुनमा पहिलोपटक चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाइएको थियो। पूर्वी लद्दाखको गलवान उपत्यकामा चीनसँगको हिंसात्मक सैन्य झडपको २० दिनपछि चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउन थालिएको थियो। – एजेन्सी