काठमाण्डौ । माछापुच्छ्रे बैंकबाट राजीनामा दिई २ वर्षसम्म विश्राम लिएका बैंकर तुलसीराम गौतम सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । 

बैंकको हालै बसेको बोर्ड बैठकले आगामी बैशाख १९ गतेदेखि लागू हुने गरी गौतमलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । 

उनले चारवर्ष माछापुच्छ्रे बैंकको सीइओ भएर काम गरेका थिए । सो बैंक छाडेपछिको २ वर्षसम्म उनी बैकिङ क्षेत्रमा सक्रिय भएनन् । 

सेञ्चुरी बैंकका तत्कालीन सीइओ अनुजमणि तिम्सिनाले राजीनामा दिएपछि बैंक कामु सीइओ जीवन भट्टराईले चलाइरहेका थिए । तिम्सिनाले राजीनामा दिएपछि बैंकले मेगा बैंक छाडेका अनिलकेशरी शाहलाई सीइओ नियुक्त गरेको थियो । तर, तलबमा कुरा नमिलेपछि उनले गरेको सम्झौता समेत तोडेर नवील बैंकतर्फ गएका थिए । यही अन्यौलका कारण सेञ्चुरी बैंक लामो समयसम्म सीइओविहीन अवस्थामा रहेको थियो । 

लामो अन्यौलतालाई चिर्दै सेञ्चुरी बैंकबाट सीइओ नियुक्त गौतमले ३६ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका थिए । गौतम नेपाल बैंकबाट बैंकिङ्ग सेवा प्रारम्भ गरी त्यहाँ १३ वर्ष, नेपाल इण्डोसुइज बैंकमा ७ वर्ष, नेपाल एस.बी.आई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्ष पूरा गरेका अनुुभवी बैंकरको रुपमा चिनिन्छन् ।

गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका छन् ।