काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो । 

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरु समेतको सहभागी उक्त शिविरमा थुप्रैजनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रममा पनि ६० जनाभन्दा बढी सहभागी थिए ।

साथै उक्त शिविरमा मुटु सम्बन्धी र हृदयघात भएमा अपनाउनुपर्ने उपचार प्रविधिको बारेमा नर्भिक इन्टरनेशनल हस्पिटलका डा. यादवकुमार दियो भट्टले जानकारी गराएका थिए ।

कार्यक्रममा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा बैंकका संञ्चालकहरुको पनि उपस्थिति रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् ।