काठमाण्डौ । भारतीय सेयर बजार फेरि कीर्तिमानी उचाइमा पुगेको छ ।

लगानीकर्ताहरुमा बढेको उत्साहले गर्दा बिहीबार सेन्सेक्स तथा निफ्टीले क्रमश ७० हजार ५४० र २१ हजार १८९ विन्दुको रेकर्ड पार गरेको छ ।  

बैंक निफ्टी पनि ४८ हजार विन्दुमा पुगेको छ । बम्बे स्टक एक्सचेन्ज(बीएसई)मा सूचीकृत कम्पनीको कुल बजार पूँजीकरण पनि पहिलो पटक ३५४ लाख करोड भारु पुगेको छ ।

साप्ताको अन्तिम दिन अर्थात् बिहीबार सेयर बजारमा आँधी आएको लगानीकर्ताले बताएका छन् । यो दिन प्रमुख बजार परिसूचकहरूले कीर्तिमानी उचाइ छोएका छन् । यस वर्षको सेप्टेम्बरमा कीर्तिमानी उचाइमा पुगेको  बजारले फेरि एकपटक उचाइ छोएको हो
यो दिन बजारमा बैंकिङ र आईटी क्षेत्रका कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् ।
यी कम्पनीको सेयरको मूल्य बृद्धि

सेयर बजारमा भएको यो बृद्धिको प्रभाव धेरै कम्पनीको सेयरमा देखिएको छ ।

आज एचसीएल टेक, इन्फोसिस, एमएचपीसीएस, बैंक, वित्त र वास्तविक क्षेत्रका कम्पनीको मूल्यमा बृद्धि भएको छ ।


सन् २०२३ मा २ प्रतिशतले सेयरबजार बृद्धिको तुलनामा सन् २०२४ मा ९ प्रतिशतले बजार बढ्ने अनुमानका बीच लगानीकर्ताले लगानी पनि बृद्धि गरेका छन् । अमेरिकी फेडरल रिजर्भले ब्याजदर परिवर्तन नगर्ने बताएसँगै त्यसको प्रभाव भारतीय सेयर बजारमा देखिएको छ ।

एसएन्डपी ग्लोबलले वित्त वर्ष २०२४ मा भारतीय सेयरबजारको बैकिंङ र प्रविधि क्षेत्रका सूचीकृत कम्पनीले राम्रो व्यापार बृद्धि गर्ने प्रक्षेपण गरेको छ ।  उसका  अनुसार बैंकिङ क्षेत्रमा रहेको एनपीए संकट अन्त्य हुनासाथ  सेयरमा ठूलो किनबेच हुन थालेको हो ।
त्यसो त हालैका दिनमा बढेको कारोबारले गर्दा भारतको पूँजीबजार विश्वकै सातौं ठूलो सेयर बजार बनेको छ ।

सेयर बजारमा हालै आएको उछालका कारण भारतले विश्वको सातौं ठूलो सेयर बजारको रूपमा स्थान प्राप्त गरेको छ ।

अहिले सकारात्मक कार्यसम्पादनका आधारमा भारत यो स्थानमा पुगेको समाचार एजेन्सीहरुले इन्डिया टाइम्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

विश्व फेडरेशन अफ एक्सचेन्जको तथ्यांक अनुसार नोभेम्बरको अन्त्यसम्म, भारतको नेशनल स्टक एक्सचेन्जको बजार पूँजीकरण ३.९८९ ट्रिलियन डलर छ भने हङकङको ३.९८४ ट्रिलियन डलर छ ।

एसिया प्यासिफिक क्षेत्रमा भारतको अर्थतन्त्र धेरै माथि छ । बढ्दो तरलता, थप घरेलु सहभागिताका कारण देशको स्टक बजारलाई बढावा दिएको छ।

हालै भएको प्रदेश निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी विजयी भएपछि सेयरबजार अप्रत्याशित रुपमा उकालो लागेको छ ।उता एचएसबीसीले पनि बैंक, प्रविधि,स्वास्थ्य सेवा र ऊर्जा आगामी वर्षको लागि सबैभन्दा राम्रो स्थितिमा रहेको क्षेत्र भएको बताएको छ।

अटो, रिटेलर, घरजग्गा र टेलिकम जस्ता क्षेत्रहरू पनि सन् २०२४ का लागि अपेक्षाकृत राम्रो स्थितिमा छन् । -एजेन्सी