काठमाण्डौ । दोश्रो बजारमा लगानीकर्ताहरु एभरेष्ट बैंकको सेयर खरीदका लागि निकै मरिहत्ते गर्छन् । तर, यही कम्पनीका सेयरधनीले भने अरुका लागि ‘हटकेक’ मानिने सेयर खरीदारीमा खासै वास्ता गर्दैनन् । यहीकारण एभरेष्ट बैंकले केही समयअघि खुलाएको हकप्रदका लागि सबै सेयरधनीले आवेदन दिएनन्, फलस्वरुप यो बैंकले समेत सर्वसाधारण समूहतर्फको २ लाख ५३ हजार ७ सय ९७ कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गर्दै सूचना निकालेको छ । 

बोलकबोलबाट सेयर खरीद गर्न इच्छुकले भदौ २५(आज) देखि असोज १ गतेसम्म तोकिएका स्थानमा आवेदन दिनुपर्नेछ । 

एभरेष्ट बैंकले ०७४ असार १८ गतेदेखि साउन २२ गतेसम्म हकप्रद निश्कासन गरेको थियो । सो क्रममा आवेदन नपरेका कित्ता लिलामीबाट बिक्री गर्न लागिएको हो । 

लिलामीबाट एभरेष्टको सेयर बिक्रीका लागि बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटलले गर्नेछ । 

दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२९९ रुपैयाँ रहेको एभरेष्ट बैंकको सेयर बोलकबोलबाट खरीदका लागि न्यूनतम मूल्य प्रति कित्ता १ सय रुपैयाँ तोक्नैपर्नेछ । न्यूनतम १ सय कित्ता र अधिकतम सेयर खरीदका लागि कुनै हद नलाग्ने सूचनामा उल्लेख छ । 

बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलको काठमाण्डौ, लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र दिन सकिने र परेका बोलपत्रहरु असोज २ गते बिहान १० बजे खोलिने बताइएको छ ।