काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरस रोकथामका लागि नेपालको सेयरबजार आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने तयारी भएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा बिहीबार बोर्ड र नेपाल स्टक एक्सचेन्ज अधिकारीहरु, ब्रोकरहरु तथा पाँचवटा लगानीकर्ता संघसंगठनका नेताहरुबीच भएको छलफलमा बजार बन्द गर्ने सहमति भएको हो। सरकारले बुधबार २५ जनाभन्दा बढी भेला हुने नहुन निर्देशन दिएपछि सेयरबजार बन्द गर्ने सहमति भएको हो। 

यद्यपि यस विषयमा अन्तिम स्वीकृति लिन बोर्डका अधिकारीहरु अर्थ मन्त्रालय गएका छन्। बोर्डको ऐनमा भने असहज परिस्थितिमा बोर्डलाई सेयरबजार ५ दिनसम्म बन्द गर्ने अधिकार रहेका कारण लामो समयसम्म बन्द गर्दा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने हुन्छ। 

बोर्डमा भएको छलफलमा आजैबाट ब्रोकर हाउसहरुमा रहेका ट्रेडिङ फ्लोर बन्द गर्ने सहमति भएको छ। आइतबारबाट भने सेयर कारोबार नै बन्द गर्ने सहमति भएको हो। 

सेयरबजार बन्द भएपछि ब्रोकर हाउसहरु भने खुलै रहने र त्यहाँ जाँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्णय पनि बोर्डले गरेको छ। 

कोरोनाकै कारणले फिलिपिन्समा शेयर कारोबार बन्द गरिएको छ। न्यूयोर्क स्टक एक्सचेन्जले शेयर बजारमा कारोबार गर्न अब अनलाईन प्रणालीलाई प्राथमिकता दिने भएको छ।