काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका लगानीकर्ताहरुलाई असर गर्ने गरी बनाइएका कतिपय प्रतिबन्धित व्यवस्थामा खुकुलो नीति लिन राष्ट्रबैंकलाई आग्रह गरेका छन् । 

संघीय संसदको तल्लो सदनमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिंदै उनले यस्तो आग्रह गरेका हुन् । 

सांसद प्रेम सुवालले अर्थमन्त्रीलाई ‘सेयर कारोबारमा जथाभावी लगानी भएको र सरकारको गलत नीतिका कारण सर्वसाधारण लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुगेकोमा सरकार जिम्मेवार बन्नुपर्छ कि पर्दैन ?’ भनेर प्रश्न गरेका थिए । 

जवाफ दिंदै अर्थमन्त्री डा. महतले केही कारोबारमा रहेका प्रतिबन्धित व्यवस्थाहरुले पनि बजार घटिरहेको र यस्तो समस्या समाधानका लागि सरकार गम्भीर रहेको दाबी गरे । 

‘राष्ट्रबैंकको नियमनले पनि बजारलाई अप्ठ्यारो पारेको छ । उसबाट भएका प्रतिबन्धित व्यवस्थाबाट परेको प्रभावका विषयमा पनि हामीले आवश्यक सम्वाद गरिरहेका छौं । हामी चाहन्छौं कि सेयर बजारले एउटा सहज रुप लिओस्, लगानीकर्ताको लगानी डूब्न नपाओस् ।’ उनले थपे–‘सरकार सेयर बजारलाई पारदर्शी बनाउन र यसको नीतिगत, प्रक्रियागत र प्रणालीगत सुधार ल्याउनेतर्फ पनि गम्भीर छ।’

राष्ट्रबैंकले यसअघि लगाएको कतिपय निषेधित नीति बिस्तारै खुकुलो बनाउन थालेको उदाहरण दिंदै अर्थमन्त्रीले सबै कुरा लगानीकर्ताको हितअनुसार नै अगाडि बढ्ने र अर्थतन्त्र चलायमान भई सेयर बजार पनि बढ्न थालेको दाबी गरे । 

‘अर्थतन्त्र चलायमान हुन थालिसकेको छ । निकै तल झरेको नेप्से परिसूचक पनि माथि आउँछ ।’–उनले भने । 

लगानीकर्ताले किनेका सेयरहरुको भाउ पनि तल झरिरहेको उदाहरण दिंदै उनले भने–‘नेप्से फेरि बढेर लगानीकर्ताहरुको लगानी सुरक्षित हुने र प्रतिफल समेत पाउने अवस्था चाँडै आउनेछ।’

डा. महतले अर्थतन्त्रहरुमा सकारात्मक संकेतहरु देखिन थालेका पनि बताए । 

‘अहिले समग्र अर्थतन्त्रमा पनि सकारात्मक संकेतहरु देखिन थालेका छन् । टुरिजम, होटल, रेष्टुरेन्ट र सेवा क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । बजेट पनि खर्च हुन थालेको छ । पूँजी प्रवाह पनि बढेको छ ।’–डा. महतले भने ।

देशमा रहेका जुनसुकै क्षेत्रमा विज्ञ भएका वा कार्यरतले समेत सेयर बजारमा बुझेर आफ्नो हैसियतअनुसार लगानी गर्नसक्नेमा उनको जोड छ । 

सकारात्मक बनौं
अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा पर्याप्त सुधार भइरहँदा समेत नकारात्मक कुराहरुको पछि मात्र नलाग्न सांसदहरुलाई आग्रह गरे । 

‘देशमा एउटा सकारात्मक बहसको आवश्यकता छ । अर्थतन्त्र उधो लागेको छ, बिग्रिरहेको छ, यो देशमा बस्नुको औचित्य छैन, लगानी गर्नुको औचित्य छैन भन्नेजस्ता चरम निराशावादी कुराहरु गर्नुभएन ।’ डा. महतले भने–‘ सबैले नकारात्मक मात्र कुरा गर्ने हो भने यसको परिणाम पनि नकारात्मक नै आउँछ । अन्यौल सिर्जना नगरौं, बरु सबै मिलेर भ्रम चिरौं ।’ 

नेपाली अर्थतन्त्र कोभिडजस्तो कहालीलाग्दो परिस्थितिबाट गुज्रिएको, भूकम्पको त्रासदीबाट समेत नआत्तिएको दृष्टान्त दिंदै भने–‘अर्थतन्त्रको बाह्य क्षेत्रको समस्याबाट पनि गुज्रियौं । तर अहिले सबै कुरामा सहज हुँदै गएका छौं । रेमिटान्स प्रशस्त छ, पूँजी प्रवाह भइरहेको छ । विदेशी मुद्राको सञ्चिती बढ्दैछ । टुरिजम बढ्दो क्रममा छ । राजश्व पनि बढ्न थालेको छ। हामी किन नकारात्मक कुराहरु मात्र गरिहने ? मौद्रिक र वित्त नीतिमार्फत लगानीलाई सहजीकरण गर्छ सरकारले । सकारात्मक सोंच र बहसको थालनी गरौं । संसदबाटै यसको थालनी गरौं ।’ 

उनले जवाफ दिने क्रममा पटक–पटक अर्थतन्त्रमा सुधार देखिन थालेको दोहोर्याएका थिए ।