Rail Tunnel
काठमाण्डौ । स्वीट्जरल्याण्डमा विश्वकै सबैभन्दा लामो र गहिरो रेल सुरुङ तयार भएको छ । यो सुरुङ बनाउन मात्रै १७ वर्ष समय लागेको छ ।
५७ किलोमिटर लामो यो दोहोरो सुरुङको नाम ‘गोटहार्ड’ राखिएको छ, यो सुरुङ आल्प्स पर्वतको फेदमा खोलिएको छ र यसले उत्तरी र दक्षिणी यूरोपलाई तेज गति भएको रेल सेवासँग जोड्नेछ ।
स्वीट्जरल्याण्डले भनेको छ कि यो सुरुङ यूरोपमा मालबाहक ढुवानीका लागि क्रान्तिकारी साबित हुनेछ । यो रेल सुरुङले नेदरल्याण्ड्सको रोटरडेम र इटलीको गेनोआलाई जोड्नेछ ।
अहिलेसम्म यो मार्गमा सामानको ढुवानी कयौं साना ट्रकहरुबाट हुने गरेको थियो । तर अब यही सुरुङमा गुड्ने रेलबाट सामानको ढुवानी हुनेछ ।
यो भन्दाअघिसम्म विश्वकै सबैभन्दा लामो सुरुङ भनी जापानको ‘सेइकन रेल सुरुङ’लाई मानिन्थ्यो, त्यसको लम्बाई ५३.९ किलोमिटर रहेको थियो । तर अब यो उपाधि गोटहार्डको नाममा सरेको छ । अर्कोतर्फ फ्रान्स र ब्रिटेनलाई जोड्ने ५०.५ किलोमिटर लामो सुरुङ अब तेश्रो स्थानमा झरेको छ ।
निर्माणमा लागेको समय :१७ वर्ष
लम्बाईं :५७.१ किलोमिटर
लागत :१२५० करोड डलर (निकुरागुआको जीडीपी बराबर)
निर्माणमा सहभागी व्यक्ति :२६००
ड्रिलिङ मेसिनको लम्बाई :४१० मिटर(फुटबलको चार मैदान बराबर)
निर्माणमा खर्च भएको कंक्रिट : ४० लाख क्यूबिक मिटर
निर्माणमा खर्च भएको कपर केवल :३२०० किलोमिटर(न्यूयोर्क र लण्डनबीचको आधा दूरी भन्दा ज्यादा)
गोटहार्ड रेल सुरुङको विधिवत उद्घाटनमा स्वीस अधिकारीहरुको साथमा जर्मन चान्सलर अंगेला मेर्केल, फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द तथा इटलीका प्रधानमन्त्री मेतो रेञ्जीको समेत उपस्थिति रहने बताइएको छ ।
स्वीट्जरल्याण्डको फेडेरल ट्रान्सपोर्ट अफिसका निर्देशक पिटर फ्यूग लिस्टरले रोयटर्स समाचार एजेन्सीलाई भनेका छन्–‘यो रेल सुरुङ स्वीस पहिचानको एक हिस्सा बन्ने छ ।’
गोटहार्ड विश्वकै गहिरो सुरुङ समेत हो । यो धरातलबाट २.३ किलोमिटर तल रहेको छ । जहाँको तापमान ४६ डिग्री सेल्सियससम्म छ र सुरुङको माथि–माथि निकै ठूला–ठूला र डरलाग्दा पहाडहरु छन् ।
गोटहार्ड सुरुङ खन्ने क्रममा इञ्जिनियरहरुले ७३ विभिन्न प्रकारका आलीसान पत्थरहरुलाई फोड्नु परेको थियो । यसमा कुनै पत्थर ग्रेनाइट जस्तो अत्यन्त कडा र कुनै चिनीजस्तो मुलायम थियो । यो क्रममा २.८ करोड टन निकालिएको थियो ।
तथ्याङ्कका अनुसार यो सुरुङ निर्माणको क्रममा ९ मजदूरको मृत्यु भएको थियो । सुरुङ निर्माणको काम अब सबै सम्पन्न भइसकेको छ र यसको निर्माण अनुमानित बजेट र तोकिएको समयमै भएको हो । यो सुरुङ आगामी डिसेम्बरबाट पूर्ण रुपमा संचालनमा ल्याइने त्यहाँका अधिकारीहरुले बताएका छन् ।
बीबीसीको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19