काठमाण्डौ । भारतको पूँजीबजार विश्वकै सातौं ठूलो सेयर बजार बनेको छ ।

सेयर बजारमा हालै आएको उछालका कारण भारतले विश्वको सातौं ठूलो सेयर बजारको रूपमा स्थान प्राप्त गरेको छ । अहिले सकारात्मक कार्यसम्पादनका आधारमा भारत यो स्थानमा पुगेको हो ।

विश्व फेडरेशन अफ एक्सचेन्जको तथ्यांक अनुसार नोभेम्बरको अन्त्यसम्म, भारतको नेशनल स्टक एक्सचेन्जको बजार पूँजीकरण ३.९८९ ट्रिलियन डलर छ भने हङकङको ३.९८४ ट्रिलियन डलर छ । भारतको निफ्टी ५० इन्डेक्स अहिलेसम्म लगभग १६ प्रतिशतले बृद्धि भएको छ ।
भारतको निफ्टी ५० सूचकांकले गत  मंगलबार मात्रै कीर्तिमानी उचाइ छोएको थियो । यो यस वर्ष निफ्टी अहिलेसम्म १६ प्रतिशतले बढेको छ तर यसको विपरित हङकङको ह्याङसेङ १७ प्रतिशतले घटिसकेको छ ।

एसिया प्यासिफिक क्षेत्रमा भारतको अर्थतन्त्र धेरै माथि गएको छ । बढ्दो तरलता, थप घरेलु सहभागिता देशको स्टक बजारलाई बढावा दिएको छ।

१.४०८ बिलियन जनसङ्ख्या भएको भारतमा अर्को वर्ष आम चुनाव हुँदैछ । जसमा सत्तारुढ राष्ट्रवादी भारतीय जनता पार्टीको अर्को विजय हुन सक्ने विश्लेषकहरूको अनुमान छ।

हालै भएको प्रदेश निर्वाचनमा सत्तारुढ पार्टी विजय भएपछि सेयरबजार अप्रत्याशित रुपमा उकालो लागेको छ ।उता एचएसबीसीले पनि बैंक, स्वास्थ्य सेवा र ऊर्जा आगामी वर्षको लागि सबैभन्दा राम्रो स्थितिमा रहेको क्षेत्र भएको बताएको छ।

अटो, रिटेलर, घरजग्गा र टेलिकम जस्ता क्षेत्रहरू पनि २०२४ का लागि अपेक्षाकृत राम्रो स्थितिमा छन् ।उता हङकङको सूचकांकले भने खराब प्रदर्शन गरिरहेको छ ।

गत हप्ता, मूडीजले मुख्य भूमि चीनसँगको वित्तीय, राजनीतिक, संस्थागत र आर्थिक सम्बन्धलाई उद्धृत गर्दै हङकङप्रतिको दृष्टिकोण घटाएको छ ।

साथै  उसले चीनको सरकारी क्रेडिट रेटिङ पनि डाउनग्रेड गरेको छ । हङकङ सरकारले अगस्टमा कुल गार्हस्थ उत्पादन पनि घट्ने प्रक्षेपण गरेको छ ।यसका साथै हङकङमा पनि उपभोक्ताको विश्वास घटेको छ ।
यी हुन् विश्वका शीर्ष सेयर बजार :

१. न्यूयोर्क स्टक एक्सचेञ्ज(पहिलो)
२.नाष्डाक
३.साङहाई
४.यूरोनेक्सट
५. जापान
६.सेन्जेन स्टक
७.नेशनल स्टक एक्सचेन्ज
८.हङकङ स्टक
-एजेन्सी