काठमाण्डौ । हाम्रो विकास बैंकको बिक्री नभएको संस्थापक सेयर साबिकका संस्थापक सेयरधनीका लागि बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न आह्वान गरिए पनि आवेदन नपरेको भन्दै अब ती सेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्ने अवसर खुलाइएको छ । 

यो बैंकले बोलकबोल प्रक्रियाबाट समेत बिक्री नभएको १ लाख ७१ हजार ३ सय ४१.७६ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि लिलामीबाट खरीद गर्ने अवसर खुल्ने भएको हो । 

बिक्री नभएको संस्थापक सेयरको लिलामी आगामी साउन ३१ गतेबाट सुरु हुनेछ । इच्छुक लगानीकर्ताले भदौ ६ गतेसम्म तोकिएको स्थानमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । भदौ ७ गते पेश भएका बोलपत्र खोलिनेछ । 

संस्थापक सेयरको लिलामीको प्रक्रियाका लागि बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमीटेड रहेको छ । इच्छुक सेयरधनीले एनआइबिएल क्यापिटल लिमीटेडको लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर प्रस्तावित मूल्यसहितको शिलबन्दी बोलपत्र पेश गर्नसक्नेछन् । 

इच्छुक लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ न्यूनतम मूल्य तथा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । यो बैंकको पछिल्लो बिक्री मूल्य प्रतिकित्ता २ सय ५७ रुपैयाँ रहेको छ ।