काठमाण्डौ । हाम्रो विकास बैंक लिमीटेड शुक्रबारदेखि इतिहासमा सीमित बन्न पुगेको छ ।

नुवाकोटमा मुख्य कार्यालय रहेको यो बैंकलाई ज्योति विकास बैंकले अक्वायर गरी शुक्रबारदेखि नै एकीकृत वित्तयि कारोबार सुरुवात गरेसँगै इतिहास बन्न पुगेको हो । 

राष्ट्रियस्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरी एक समारोहका बीच एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका छन् । 

सो अवसरमा ज्योति विकास बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रेग्मीले ज्योति विकास बैंक एउटा सबल विकास बैंक भएको र हाम्रो विकास बैंकलाई प्राप्तिपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा ज्योति विकास बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापति हरिचन्द्र खड्काले दुई बैंक बीच एकिकृत कारोबार शुभारम्भ भएकोमा खुसी लागेको र थप जिम्मेवारी बढेको बताउँदै अझ विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले नागरिकलाई सरल र सहज सेवा प्रदान गर्न १० वर्ष अगाडि स्थापना भएको हाम्रो विकास बैंकले नागरिक र देशका लागि योगदान दिएको र उक्त कार्य अब अझ विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्तापँुजीको हिसावले सबै भन्दा ठूलो विकास बैंक भएको, शाखा सञ्जाल र बैंकिङ सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउँदै लघु कर्जादेखि ठूला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । 

कार्यक्रमका अतिथिलाई हाम्रो विकास बैंक लिमिटेडका प्रमूख कार्यकारी अधिकृत पारसराज कँडेलले स्वागत गरेका थिए । 

सो अवसरमा नुवाकोट जिल्लाका प्रमूख जिल्ला अधिकारी उद्धवबहादुर थापा तथा जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ र विदुर नगरपालिकाका नगर प्रमूख सञ्जु पण्डितले आफ्नो मन्तव्य राखेका थिए ।

एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढी पुगेको छ । यस्तै, निक्षेप २६ अर्ब ३८ करोड र कर्जा रु २३ अर्ब ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, एटीएम संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ । 

बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेर चुक्ता पूँजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । साथै यसै आर्थिक वर्षभित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा एटीएम  संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।