कोरोनाभाइरस रोकथामका लागि भारतले सङ्घर्ष गरिरहँदा करिब ९ लाख महिला स्वास्थ्यकर्मीहरू मैदानमा उत्रिएका छन्।

तर उनीहरू बिना तयारी यो काममा खटिएका छन्, सङ्क्रमणको जोखिममा छन् र उनीहरूलाई एकदमै कम पारिश्रमिक दिइएको छ।

"सरकारका अनुसार हाम्रो मूल्य जम्मा ३० रुपैयाँ छ," महाराष्ट्र राज्यमा समुदायमा काम गर्ने स्वास्थ्यकर्मी अल्का नलावाडेले भनिन्।

"कोरोनाभाइरससम्बन्धी काम गर्नका लागि हामीलाई सरकारले एक महिनाको १ हजार भारतीय रुपैयाँ दिइरहेको छ," उनले थपिन्।

"ज्यान खतरामा राखेर काम गरेबापत हामीले दैनिक ३० रुपैयाँ पाउँछौँ।"

भूमिका
नलावाडे उक्त राज्यमा खटिएका ७० हजार स्वास्थ्यकर्मी मध्येकी एक हुन्।

त्यसरी काम गर्ने स्वास्थ्यकर्मीलाई मान्यताप्राप्त सामाजिक स्वास्थ्य अभियानकर्मी अर्थात् छोटकरीमा "आशा" भनिन्छ।

उनले १० वर्षदेखि स्वास्थ्यकर्मीको रुपमा काम गर्दै आएकी छन् र सन्तानकी एकल अभिभावक पनि हुन्।

भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रमअन्तर्गत यी स्वास्थ्यकर्मी पर्छन् जसले स्थानीय र ग्रामीण समुदायमा काम गर्छन्।

उक्त कार्यक्रम अन्तर्गत काम गर्ने स्वास्थ्यकर्मीहरू ग्रामीण भेगका घरघरमा मातृ र शिशु स्वास्थ्य, गर्भनिरोधक साधन, खोप र सरसफाइलगायतका विषयमा मानिसहरूलाई शिक्षा दिँदै हिँड्छन्।

सचेतनाबाहेक उनीहरू ती भेगका मानिसलाई स्वास्थ्य कार्यक्रममा सहभागी गराउने र त्यसले दिने परिणामको अनुगमन गर्ने काम पनि गर्छन्।

कोभिड-१९ विरुद्ध लड्नका लागि पनि उनीहरूको भूमिका फरक छैन।

उनीहरू आफूलाई भनिएको काम गर्नका लागि घरघरमा पुग्छन्।

महामारीका बेला अलग्गिएर बस्नुपर्ने बारेमा उनीहरू गाउँका मानिसलाई बताउँछन् र कसैमा भाइरसको लक्षण देखापरेको छ छैन भन्ने पनि सोध्छन्।

तर त्यसको खतरा उनीहरूले यसअघि सामना गरेकोभन्दा धेरै ठूलो छ।

उनीहरूसँग मास्क, स्यानिटाइजरलगायत स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने आधारभूत सामग्रीहरू पनि छैन।

भारतमा परीक्षणका क्रममा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री पीपीइको अत्यन्तै अभाव छ र डाक्टर तथा नर्सहरू पनि असुरक्षित छन्।

सरकारको दायित्व
थुप्रै स्वास्थ्यकर्मीहरूले आफूहरूले सुतीको कपडाको मास्क दैनिक धोएर लगाउने गरेको बताएका छन्।

त्यस्तै रक्सी बोकेर हिँड्ने र त्यसमा पानी मिसाएर स्यानिटाइजरका रुपमा प्रयोग गर्ने पनि उनीहरूले बताए।

त्यस्तै मध्येकी एक स्वास्थ्यकर्मी करुना शिन्देले आफूले स्कार्फ बोकेर हिँड्ने र त्यसैले मुख ढाक्ने गरेको बताइन्।

"सुरक्षा सामग्री जहाँ अभाव हुन्छ हामीले त्यसबारे स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं," महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेन्द्र यद्रभकरले भने।

"महिला स्वास्थ्यकर्मीहरूले नगण्य पारिश्रमिकमा आफ्नो ज्यान खतरामा राखेका छन्। उनीहरूलाई सुरक्षा दिनुपर्छ। उनीहरूलाई सहयोग गर्नु सरकारको दायित्व हो।"

तर यसले स्वास्थ्यकर्मी वा उनीहरूका परिवारलाई आश्वस्त पार्दैन। बरू परिवारका सदस्यहरू उनीहरूलाई काममा नजान हतोत्साहित गर्छन्।

"मेरो श्रीमान्‌ले मलाई काममा जानुपर्दैन भन्नुहुन्छ। डाक्टर र नर्सहरूले राम्रो पारिश्रमिक पाउँछन् तिनीहरूले नै काम गरून् भन्नुहुन्छ," शिन्देले भनिन्।

सङ्क्रमणको जोखिमसँगै परिवारका सदस्यहरू सुरक्षालाई लिएर पनि चिन्तित छन्।

देशका विभिन्न भागमा स्वास्थ्यकर्मीहरूमाथि हमला भएको भन्ने खबर आइरहँदा उनीहरू चिन्तित बनेका हुन्।

तर यति हुँदाहुँदै पनि नलावाडे सरकारले मासिक दिने हजार रुपैयाँले उनी र उनका सहकर्मीले झेलिरहेको खतरा नदेखाउने बताउँछिन्।

मानिसको व्यवहार
यदि खेतमा दैनिक ज्यालादारका रुपमा काम गरे आफूले १० गुणा बढी पैसा कमाउने उनी बताउँछिन्।

"३० रुपैयाँ कमाएर हामीले कसरी हाम्रो घरखर्च धान्न सक्छौँ?" उनले प्रश्न गरिन्।

'भाइरसको सङ्क्रमण भयो भने मैले के गर्ने? हामीहरूलाई कसले हेर्छ? ३० रुपैयाँमा मेरो उपचार हुन्छ?"

आफ्नो काम गर्न खोज्दा पनि लाञ्छना लाग्ने गरेको उनी बताउँछिन्। मानिसहरू घरभित्र छिर्न दिँदैनन् र प्रश्नको जवाफ दिनुपरे पनि घरबाहिरै उभिन भन्छन्।

ती मानिसहरूलाई स्वास्थ्यकर्मीहरू सङक्रमित भएको हुनसक्ने डर रहन्छ।

"हामी मानिसहरूका लागि काम गर्छौं तर तिनै मानिसहरू हामीलाई यस्तो व्यवहार गर्छन्। अनि हामी के गर्ने?" नलावाडेले भनिन्।

आफूले गरेको प्रयासको मूल्याङ्कन पनि एकदमै कम हुने गुनासो उनीहरूको छ।

"हाम्रो गरेको काम कसैले उल्लेख गर्दैन," अन्जना वाङ्खेडेले भनिन्। "प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म सबैले डाक्टर र प्रहरीको मात्रै प्रशंसा गर्छन्।"

आफूजस्तै स्वास्थ्यकर्मीले दैनिक सङ्कलन गरेको तथ्याङ्कमा सरकार पनि भर पर्ने भएकोले त्यो न्यायोचित नभएको उनी बताउँछिन्।

"हामी प्रत्येक घर पुग्छौं र सरकारलाई तथ्याङ्क उपलब्ध गराउँछौँ। त्यसै आधारमा सरकार आफ्नो कुरा राख्छ तर तथ्याङ्क सङ्कलन गर्ने स्वास्थ्यकर्मीबारे सरकारले केही भन्दैन।"

-बीबीसीबाट साभार