काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेलको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ। प्राधिकरणले पौडेलको नियुक्तिलाई आजै स्वीकृति दिएको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उपासनालाई सीईओ नियुक्त गर्ने सञ्चालक समितिको निर्णयलाई आजै स्वीकृति प्रदान गरेको बताए। १० अर्ब रुपैयाँ चुक्तापुँजीको हिमालयन रि इन्स्योरेन्समा १० महिनाअघि मात्रै पौडेल डेपुटी सीईओका रुपमा भित्रिएकी थिइन्। 

हिमालयन रि इन्स्योरेन्समा डेपुटी सीईओका रुपमा भित्रिनुअघि उनी युनाइटेड इन्स्योरेन्सकी सीईओ थिइन्। सन् २०१९ मा युनाइटेड इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरी पौडेल अप्रिल २०२१ मा सीईओमा नियुक्त भएकी थिइन्। 

युनाइटेडमा सन् २०२२ नोभेम्बरसम्म सीईओका रुपमा कार्य गरेकी पौडेल २०२२ को नोभेम्बरमा नै हिमालयन रि इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त भएकी थिइन्।