काठमाण्डौ । साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ। 

यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए। एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो। 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाण्डौमा आयोजित विशेष समारोहमा एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरेका थिए। उनले नयाँ कम्पनीको प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए। 

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले जीवन बीमा आमजनताको जीवनमा अपरिहार्य रहेकोले गरिब र न्यून आय भएका जनताका बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिए। उनले तीनवटा कम्पनी गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेकोमा कम्पनीसम्बद्ध सबैलाई बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिए। 

यो घटना नेपाली बीमा कम्पनीहरुका लागि ऐतिहासिक भएको सिलवालको टिप्पणी छ। तीनवटा कम्पनी एकआपसमा गाभिँदा ठूलो चुक्तापुँजी भई कम्पनी थप शक्तिशाली बनेको पनि उनले बताए। 

मंगलबार बिहान कम्पनी अध्यक्ष सुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। 

एकीकृत कारोबार शुभारम्भ समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले १ वर्ष मर्जर अभियानमा सक्रिय सबैमा कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

गत वर्ष चैतमा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने नीति ल्याएपछि जीवन बीमा कम्पनीतर्फ यी तीन कम्पनीले पहिलोपटक मर्जर सम्झौता गरेका थिए। यी कम्पनीले तीनवटा संस्था गाभ्ने चुनौतीपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेका छन्। 

जीवन बीमा क्षेत्रको बिग मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स धेरैवटा सूचकमा अगाडि पुगेको छ। जीवन बीमा क्षेत्रमा चुक्तापुँजीका हिसाबले हिमालयन दोस्रो ठू्लो, जीवन बीमा कोषका हिसाबले चौथो ठूलो र शाखा सञ्जालको हिसाबले सबैभन्दा नम्बर १ कम्पनी बनेको छ। कर्मचारी संख्यामा पनि नम्बर १ बनेको छ। नवीकरण गरेका अभिकर्ताको संख्याका आधारमा पनि हिमालयन लाइफ सबैभन्दा अगाडि छ। 

मर्जरबाट भनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्तापुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ। जीवन बीमा कोषमा ५० अर्ब  ११ करोड रुपैयाँ जम्मा भएको छ। त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ पुगेको छ। सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। 

मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क संकलन ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। यी तीन कम्पनीले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन्। हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। 

साबिक तीन बीमा कम्पनीहरुले ५ लाख १२ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेका छन्। हिमालयन लाइफको अभिकर्ता सञ्जाल पनि सबैभन्दा ठूलो हुन पुगेको छ।