काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.४६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन १५ अर्ब २५ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। 

यो अवधिसम्म कम्पनीले ५ अर्ब ४५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.७८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ७२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च घटेर १ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १ अर्ब ७४ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार २३.२७ प्रतिशतले बढेर ५२ अर्ब १२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा ४२ अर्ब २८ करोड रुपैयाँ थियो। अघिल्लो वर्ष ३७ करोड ४८ लाख रुपैयाँ रहेको महाविपत्ति जगेडाको आकार पनि बढेर ४४ करोड ६५ लाख रुपैयाँको भएको छ। 

कम्पनीको रिजर्भको आकार ५१.६६ प्रतिशतले घटेर १ अर्ब ६ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा २ अर्ब २० करोड रुपैयाँ थियो। 

चौथो त्रैमाससम्म कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ४२.५१ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ५ लाख ७८ हजार ९५३ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ६ लाख ३० हजार ४३१ रहेको थियो। आर्थिक सुस्ततासँगै पोलिसी सरेन्डर गर्नेहरु बढेपछि यो संख्या घटेको हो। 

चुक्तापुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.२५ रुपैयाँ कायम भएको छ। पीई रेसियो ६९.९५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.८३ रुपैयाँ रहेको छ।