काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तालाई प्रशिक्षण तथा अन्तर्क्रियाका लागि ‘फ्राइडे टक’ नामक कायक्रम सञ्चालनमा ल्याएको छ। 

कम्पनीको पाटन शाखाले अभिकर्ताको क्षमता अभिवृद्धि तथा सेल्स स्किल डेभलपका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो। कम्पनीको पाटन शाखा प्रमुख बद्री सुवेदीले भदौ १ गतेदेखि शाखा कार्यालयमा आबद्ध अभिकर्तालाई प्रशिक्षण तथा अन्तर्क्रिया गर्नका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको बताए। ‘विशेषगरी अभिकर्ता परिचालन तथा अभिकर्तालाई मोटिभेसन दिने र ज्ञानवर्द्धक विषयका कुराहरु प्रदान गर्ने हेतुले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘बीमा कम्पनीको मेरुदण्डका रुपमा रहेका अभिकर्तालाई व्यवसाय कसरी गर्ने र लङ टर्म व्यवसाय भित्र्याउन मोटिभेट गर्नेछौँ।’ 

अभिकर्तालाई ज्ञानवर्द्धक, सीपवर्द्धक बनाउँदै बीमा व्यवसायप्रति निष्ठावान, प्रतिबद्ध, जागरुक तथा बीमितप्रति जिम्मेवार एवं जबाफदेही बनाउनका लागि शाखाका अभिकर्ताहरुकै पहलमा फ्राइडे टक कार्यक्रम सञ्चालनमा ल्याइएको सुवेदीले बताए। दक्ष तथा योग्य अभिकर्ता निर्माण गर्नुपर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रमको तेस्रो एपिसोड सञ्चालनमा आइसकेको छ। 

यस कार्यक्रममार्फत अभिकर्तालाई बीमा व्यवसाय भित्र्याउन थप प्रेरित गर्ने र दक्ष बनाउने लक्ष्य सुवेदीले लिएका छन्। ‘अभिकर्ता दक्ष तथा ज्ञानवर्द्धक हुनुपर्छ, हामीले यसै कार्यक्रममार्फत अभिकर्तालाई चाहिने सम्पूर्ण ज्ञान तथा सीपहरु प्रदान गर्ने कोसिस गरेका छौँ’, सुवेदीले भने, ‘आगामी दिनमा बीमा अभिकर्ताको ज्ञानसम्बन्धी अझै गहकिला विषयवस्तु तथा रमाइला कुराहरु समेत कार्यक्रममा प्रस्तुत गर्नेछौँ।’ 

सुवेदीले थपे, ‘जीवन बीमाप्रतिको गलत बुझाइ तथा नकारात्मक धारणालाई पन्छ्याउनसमेत यो कार्यक्रमले भूमिका खेल्ने विश्वास लिएका छौँ।’

कार्यक्रममा कम्पनीका पाटन शाखा प्रमुख बद्री सुवेदी, हिमालयन लाइफका नेपाल प्रथम इन्द्रबहादुर विक, पाटन शाखा प्रथम श्रीकृष्ण नेपाल, सिनियर एजेन्सी मेनेजर खिबराज दाहाल, श्याम सुवेदीलगायत अन्य बीमा अभिकर्ताहरुको सहभागिता रहेको फ्राइडे टक कार्यक्रमको अर्को संस्करण आगामी शुक्रबार दिउँसो ३ बजे रहेको शाखाले जनाएको छ।