काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको कमिसन दिन आलटाल गरेको पाइएको छ ।   

कम्पनीमा कृषि बीमा अन्तर्गत कुल १२२ वटा गाईको बीमा गराइदिएका साना किसान कृषि सहकारी संस्था डुमरवाना बाराका पशु जेटिए प्रेमप्रसाद उपाध्यायले हालसम्म पनि कमिसन बापत कम्पनीबाट एक रुपैयाँ समेत नपाएको दाबी गरेका छन् । 

उपाध्यायले २०७८ साल कात्तिक महिनादेखि लगातार बारा जिल्लाको जितपुरसिमरा उप–महानगरपालिकाको वडा नं. २, ३, ४, १४, १५ र १६ गरी कुल ६ वटा वडाका कृषकहरुको १२२ वटा गाईको बीमा गराइदिएका थिए ।  

बीमा गराएको लामो समय वितिसक्दा समेत कम्पनीले उक्त कमिसन भुक्तानी गर्न आलटाल गरेको उपाध्यायले आरोप लगाएका छन् । 

उनका अनुसार जितपुरसिमरा उप–महानगरपालिकाका   कृषकको मूल्यांकित रकम १ करोड २५ लाख ५ हजार रुपैयाँको बीमा गराइदिएका थिए । 

‘नियमअनुसार बीमा गराइदिएबापत एजेन्टलाई बीमा गराएको रकमको १० प्रतिशत कमिसन दिने व्यवस्था छ, तर यतिको समय बितिसक्दा समेत कम्पनीले उक्त रकम भुक्तानी गर्न आलटाल गर्न खोजिरहेको छ’ उनले भने, ‘हामीले डाइरेक्ट कम्पनीमा प्रस्ताव राख्न पाउँदैनौं, सो सम्बन्धी व्यवस्थापनका लागि कम्पनीको प्रबन्धकसमक्ष कुरा राख्दा कम्पनीमा क–कसले राजीनामा दिएको छ, भन्दै आलटाल गर्न खोजिरहेको छ ।’ 

उपाध्यायका अनुसार बीमितहरुले ५ लाख १२ हजार रुपैयाँ पहिलो प्रिमियम तिरिसकेका छन् । ‘बीमितहरुले ५ लाख रुपैयाँभन्दा बढी प्रिमियम तिर्दा पनि एक रुपैयाँ कमिसन प्राप्त भएको छैन’ उनले भने, ‘प्रिमियमकै आधारमा कमिसन भुक्तानी हुने भएपनि हालसम्म कमिसनबापत ५१ हजार रुपैयाँ भुक्तानी भइसक्नु पर्ने हो, तर एक रुपैयाँ पाइएको छैन ।’

पटक–पटक कम्पनीमा कमिसनको बारेमा कुरा राख्दा कम्पनीले अनेकन बाहाना बनाई टार्न खोजेको उनले आरोप लगाएका छन् ।  

नेपाल बीमा प्राधिकरणको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा गराएबापत कुल १५ प्रतिशत कमिसन दिनुपर्ने व्यवस्था रहेको छ । जसमा १० प्रतिशत कृषि तथा पशुपन्छी बीमा अभिकर्तालाई र ५ प्रतिशत प्राविधिक पक्षलाई भुक्तानी गर्नुपर्ने हुन्छ । 

निर्देशिकाको निर्देशन नं. २५ मा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताले कृषि तथा पशुपन्छी बीमा गरे बीमाशुल्क बापतको दश प्रतिशत कमिसन प्राप्त गर्नेछ भनी उल्लेख छ । तर नियमअनुसार बीमितले तिरेको प्रिमियमको आधारमा कृषि तथा पशुपन्छी अभिकर्तालाई कमिसन भुक्तानी हुन्छ । 

यता कम्पनीका नायब प्रमुख कार्यकारी कमल गौतमले भने कम्पनीले यस्तो लिगल कमिसन भुक्तानी गर्न कुनै खालको आलटाल नगरेको दाबी गरेका छन् । 

‘ढिलाचाँडोको कुरा हुन्छ, तर निर्देशिकामा नै उल्लेख भएको दिनुपर्ने कमिसन कम्पनीले नदिने भन्ने हँुदैन’ उनले भने, ‘नियमभन्दा ठूलो केही छैन, हामी नियमभन्दा बाहिर जान सक्दैनौ, सम्बन्धित एजेन्ट कम्पनीमा आएर प्रस्ताव गरेमा दिनुपर्ने कमिसन दिनेछौं ।’ 

साथै बीमितले तिरेको प्रिमियमकै आधारमा सम्बन्धित एजेन्टलाई कमिसन भुक्तानी हुने गौतमले बताए ।  ‘सम्बन्धित बीमितले प्रिमियम समयमै नतिर्दा कमिसन भुक्तानीमा ढिलाई भएको हुनसक्छ, साथै सम्बन्धित एजेन्टले पनि सबै प्रक्रियाअनुसार प्रस्ताव राखेमा कम्पनीले अवश्य दिनुपर्ने कमिसन दिन्छ ।’ उनले भने ।