-मनिष सोती
काठमाण्डौ । पछिल्लो समय बीमा क्षेत्रमा युवा व्यवसायीहरुको आकर्षण बढ्दै गइरहेको छ । 

व्यवसायसँगै बीमा अभिकर्ता पेशालाई अँगाल्दै युवाहरुले जीवन बीमा कम्पनीको व्यवसायमा योगदान दिइरहेका छन् । 

जीवन बीमा कम्पनीले ल्याएका नयाँ योजना तथा पोलिसीलाई बीमितसमक्ष पुर्याउने काम अभिकर्ताहरुले गर्दै आइरहेका छन् । यसकारण अभिकर्ताहरुलाई बीमा कम्पनीको मेरुदण्ड पनि मानिन्छ ।

आफ्नो व्यवसाय सम्हाल्दै पोखरा लेकसाइड–६ का २७ वर्षे रेशम गौतम हाल जीवन बीमा क्षेत्रमा बीमा अभिकर्ताका रुपमा सक्रिय छन् । २०७४ साल साबिक युनियन लाइफ इन्स्योरेन्स(हाल हिमालयन लाइफ)बाट बीमा क्षेत्रमा अभिकर्ताका रुपमा प्रवेश गरेका गौतमको यतिबेला जीवनशैली नै परिवर्तन भएको छ । 

बीमा क्षेत्रमा आएदेखि उनी लगातार ६ वर्षसम्म मिलियन डलर राउण्ड टेबल(एमडीआरटी) क्वालिफाइड भइसकेका छन्, जुन अभिकर्ताहरुका लागि यो ठूलो सफलता हो । 

गौतम सन् २०१८ र २०२२ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा समेत सहभागी भइसकेका छन् ।

यसबाहेक अभिकर्ता पेशामा लागिसकेपछि आर्थिक अवस्था बलियोसँगै अन्य सफलता समेत प्राप्त हुने गौतम बताउँछन् ।

‘अभिकर्ता भनेका जीवन बीमा कम्पनीको मेरुदण्ड हुन्, बीमा कम्पनीको व्यवसाय ल्याउन अभिकर्ताको मुख्य योगदान हुन्छ, यो पेशामा लागिसकेपछि बोल्ने शैलीको विकास, आत्मविश्वास बढ्ने यावतका उपलब्धि पाइनुका साथै मनग्य कमाउन पनि सकिन्छ’ उनले भने, ‘तर अभिकर्तामा लगनशील भने कायम हुनुपर्छ, बीमा गर्नुभन्दा पनि बीमा बुझाउनमा अभिकर्ताले जोड दिनुपर्छ ।’ 

विगत ८ वर्षदेखि पोखराको लेकसाइडमा गौतमले ‘बुद्ध प्याराग्लाइडिङ’ नामक पर्यटन व्यवसाय समेत गर्दै आइरहेका छन् । टुरिजम बिजिनेशसँगै अभिकर्ता पेशा अँगालेका गौतमले बीमा क्षेत्रमा प्रवेश गरेपछि आफ्नो जीवनशैली नै परिवर्तन भएको बताउँछन् । 

‘बीमा अभिकर्ता पेशाले विशेषतः मेरो आत्मविश्वास बढाएको छ, मान्छेसँग लगनशील र धैर्यशक्ति हुने हो भने जस्तोसुकै कार्य पनि गर्न सकिने भन्ने पाठ मैले यो पेशामा लागेपछि सिकेको छु’ उनले भने, ‘आफ्नै बिजिनेश सम्हाल्दै बीमा अभिकर्ता पेशा अगाँल्दा पनि म लगातार ६ पटक एमडीआरटी क्वालिफाइड भइसकेको छु, जुन यो मेरो लागि सबैभन्दा ठूलो अचिभमेन्ट हो ।’ 

हाल उनी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय अभिकर्ताका रुपमा परिचित छन् । कम्पनीलाई प्रतिनिधित्व गर्दै लगातार ६ पटक एमडीआरटी क्वालिफाइड हुने उनी पहिलो अभिकर्ता हुन् । 

अभिकर्ता पेशाबाट पाएको उपलब्धि 
अभिकर्ता पेशाबाट सोंचेभन्दा धेरै उपलब्धि पाएको गौतम बताउँछन् । सन् २०१८ देखि २०२४ सम्मका लागि उनी एमडीआरटी क्वालिफाइड भएका छन् । 

साविक युनियन लाइफ इन्स्योरेन्समा गौतमले २ करोड ७१ लाख रुपैयाँको प्रिमियम भित्र्याई ‘नेपाल टप बीमा रत्न’ अवार्ड समेत पाएका थिए । 

हालसम्म उनले २५० वटा पोलिसी बिक्री गरिसकेका छन् । बीमा अभिकर्ता पेशाबाट आफ्नो आर्थिक पाटो झनै बलियो भएको उनी बताउँछन् । 

‘मेहेनत सबै क्षेत्रमा नै गर्नुपर्छ, अभिकर्ता पेशामा पनि मेहेनत र लगनशील हुने हो भने मनग्य आम्दानी गर्न सकिन्छ’ उनले भने, ‘व्यापार व्यवसायसँगै यो पेशामा सक्रिय हुन सकिन्छ, मेरो टिममा शिक्षक, इञ्जिनियर, व्यापारीहरु सक्रिय अभिकर्ता हुनुहुन्छ ।’ 

गौतमले हाल ३०० जना अभिकर्ताहरुलाई लिड गरिरहेका छन् । 

‘एमडीआरटी ग्लोबल कन्फ्रेन्स अभिकर्ताका लागि महत्वपूर्ण’
जीवन बीमा अभिकर्ताहरुका लागि एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन एकदमै महत्व राख्ने गौतम बताउँछन् । ६ पटक एमडीआरटी बनेर दुईपटक कन्फ्रेन्समा सहभागी भइसकेका गौतमले त्यस्ता खालका सम्मेलनबाट अभिकर्तालाई थप प्रोत्साहन मिल्ने बताए।

‘ग्लोबल कन्फ्रेन्समा अन्य देशका अभिकर्ताहरुसँग भेटघाट हुने अवसर मिल्छ, अभिकर्तालाई पर्सनल मोटिभेसन मिल्ने भएकाले सकेसम्म यस्ता खालका सम्मेलनमा भाग लिंदा अभिकर्तालाई नै फाइदा हुन्छ’ उनले भने, ‘सम्मेलनमा अभिकर्ताहरुलाई उत्प्रेरणा जगाउने खालका तालिमहरु पनि दिइन्छ र बिक्री कलाको समेत ज्ञान दिइन्छ ।’ 

साथै नेपालको सन्दर्भमा एमडीआरटी क्वालिफाइड हुनेको संख्यामा ग्लोबल कन्फ्रेन्समा सहभागी हुनेको संख्या न्यून रहेको उनी बताउँछन्। 

‘सबै कम्पनीबाट २–३ सय अभिकर्ताहरु एमडीआरटी क्वालिफाइड हुन्छन्, तर वर्षेनी यस्ता कन्फ्रेन्समा जाने अभिकर्ताहरु जम्मा २५–३० जना हाराहारी हुन्छन्’ उनले भने, ‘कतिपय अभिकर्तालाई त्यस्ता सम्मेलनमा कसरी सहभागी हुने प्रक्रिया समेत थाहा हुँदैन र थाहा हुने अभिकर्ताहरु पनि आफ्नै खर्चले सहभागी हुन हिच्किचाउँछन्, यसकारण अभिकर्ताहरु सो खालका सम्मेलनबाट पाइने ठूलो उपलब्धिबाट बञ्चित हुन्छन् ।’ 

‘बजारमा बीमा गर्नभन्दा पनि बीमा बुझाउन जान आवश्यक छ’ 
पछिल्लो समय बजारमा बीमा गर्नुभन्दा पनि बीमा बुझाउन आवश्यक रहेको गौतम बताउँछन् । ग्राहकलाई बीमाको आवश्यकता राम्रोसँग बुझाउन सके ग्राहकले नै स्वयम् बीमाको प्रस्ताव राख्ने गौतमको भनाई छ । 

‘बीमा अभिकर्ता पेशालाई मैलै समाज सेवाको रुपमा हेर्ने गरेको छु, बीमितलाई बीमा गर्नुस् भन्दा पनि बीमा यो कारणले महत्व छ भने बुझाउनसके पोलिसी बिक्री गर्न गाह्रो छैन’ उनले भने, ‘जीवन बीमाको महत्व बुझ्ने ग्राहकले कन्भिन्स गर्नै नपरी बीमा गर्नुहुन्छ ।’

कतिपय अभिकर्ताहरु कम्पनीले दिएको टार्गेट पुर्याउन बीमितलाई झुटो आश्वासन दिएर पोलिसी बिक्री गर्ने गरेको गौतम बताउँछन् । यस्ता खालका प्रवृत्तिले गर्दा अभिकर्तालाई ठगीको आरोप आउने गौतम तर्क गर्छन् । 

‘१० पटकसम्म लगातार एमडीआरटी हुने लक्ष्य’
सन् २०१८ देखि लगातार ६ पटक एमडीआरटी बनिसकेका गौतमको १० पटकसम्म क्वालिफाइड हुने लक्ष्य छ । ‘आगामी दिनमा सीओटी, टीओटीभन्दा पनि लगातार १० पटकसम्म एमडीआरटी क्वालिफाइड हुने मेरो लक्ष्य छ’ उनले भने, ‘१० पटकसम्म एमडीआरटी क्वालिफाइड हुँदा अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरबाट पाउने सुविधाहरु उपलब्ध हुन्छ, जुनसुकै सम्मलेनमा निःशुल्क सहभागी हुने अवसर मिल्छ ।’ 

विश्वस्तरीय मान्यता प्राप्त बीमा अभिकर्ताहरुका प्रतिष्ठित संस्था एमडीआरटीकाअनुसार अभिकर्ताहरु लगातार १० वर्षसम्म एमडीआरटी क्वालिफाइड भएमा उक्त अभिकर्ता मानार्थ सदस्यका लागि योग्य हुनेछन् । 

‘आफ्नो आयस्रोतअनुसार जीवन बीमा अनिवार्य गरौं’ 
केही वर्षयता नेपालको कुल जनसंख्यामा बीमाको दायरा बढ्दै गइरहेको छ । एक दशकअघि बीमाको दायरा ९ प्रतिशत रहेकोमा पछिल्लो केही वर्षयता बढेर ४० प्रतिशत जनसंख्यामा पुगेको गौतम तर्क गर्छन् । 

‘जीवन बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको छ, यो समग्र बीमा क्षेत्रका लागि नै सबल पक्ष हो, तर अझै आधा जनसंख्यामा बीमाको पहुँच पुगेको छैन’ उनले भने, ‘नेपाल बीमा प्राधिकरणले अभिकर्ता परीक्षा लिएर सक्षम अभिकर्ता मात्रै फिल्टर गरिरहेको छ, यसले बीमा बजारलाई अझै उजागर गर्न मद्दत पुर्याउँछ ।’

साथै न्यून आयस्तर भएकालाई समेत बीमामा समेट्नुपर्नेमा गौतम जोड दिन्छन् । ‘ग्रामीण भेगहरुमा अझै जीवन बीमाको पहुँच पुगेको छैन, त्यस्ता क्षेत्र र न्यून आयस्तर भएकालाई समेत बीमाले समेट्नुपर्छ’ उनले भने, ‘आफ्नो आयस्रोतको आधारमा थोरै–थोरै रकम जम्मा गरेर भए पनि जीवन बीमा गर्नैपर्छ ।’ 

आफ्नो जीवन सुरक्षित र आरामदायी बनाउन जीवन बीमा गर्नुपर्ने गौतम जोड दिन्छन् । ‘बचतसँगै जोखिम बहन गर्ने माध्यम भनेकै जीवन बीमा हो, बीमाबाटै फोर्सफुल्ली सेभिङ हुने गर्दछ’ उनले भने, ‘जोखिमभार न्यूनिकरण गर्न तपाईले जति सक्नुहुन्छ त्यतिको भएपनि बीमा गर्नुपर्छ ।’