काठमाण्डौ । पछिल्लो समय नेपालको अर्थतन्त्र सुधारउन्मुख हुँदै गएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकमा विभिन्न सूचकमा देखिएको सुधारले पनि यसले थप पुष्टि गरेको छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए।
२०८० असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा रु. १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ।
आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई रु. १३ अर्ब ५३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो।
साउनमा कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई रु. १ खर्ब २९ अर्ब २४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः ३.३ प्रतिशत र १७.० प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकबाट भएको आयात २३.१ प्रतिशतले कमी आएको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई रु. १ खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो।
चालु खाता र शोधानान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु. १२ अर्ब ९९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५ अर्ब १३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३२ अर्ब ९० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९ अर्ब ७६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ।
रेमिट्यान्सको अवस्था
समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.८ प्रतिशतले वृद्धि भई रु.१ खर्ब १६ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो।
मुद्रास्फीति
२०८० साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19