काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले विभिन्न ५ बित्तीय संस्थालाई प्राप्तिको काम सकी चुक्तापुँजी सहजै ८ अर्ब पुर्याएको छ । 

यो बैंकले पछिल्लो पटक अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरी ८ अर्ब चुक्तापुँजी पुर्याएसँगै आइतबारदेखि एकीकृत बित्तीय कारोबार थालेको छ । 

ललितपुरको कोपुण्डोलस्थित हिमालय होटलमा एक समारोहका बीच नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार शुभारम्भ गरे । 

सो समारोहलाई सम्बोधन गर्दै उनले सेञ्चुरी कमर्सियल बैंक कान्छो वाणिज्य बैंक भए पनि केन्द्रीय बैंकले तोके अनुसार समयमै चुक्तापुँजी पुर्याएकोमा खुशी व्यक्त गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले सबैको साथ र सहयोगका कारण छोटो समयमै सेञ्चुरी बैंकले राष्टबैंकको नीति अनुरुप चुक्तापुँजी पुर्याएको बताए । उनले आगामी दिनमा बैंकले दुुर्गम क्षेत्रमा समेत सेवा बिस्तार गर्ने उल्लेख गर्दै भने–‘५ वटा बित्तीय संस्था प्राप्ति भइसकेपछि आजको अवस्थामा हाम्रो शाखा सञ्जाल संख्या ८५ पुुगेको छ । सरकारको नीति अनुरुप स्थानीय निकायका थप २० ठाउँमा समेत शाखा बिस्तार गरी हामी कुल शाखा संख्या १०५ पुर्याउनेछौ ।’ 

बैंकको नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्तिपछि बैंकको चुक्तापुँजी ७ अर्ब ६८ करोड पुुगेको जानकारी दिए । अपुुग चुक्तापूँजी बैंकले बोनसबाट जुटाउनेछ । उनका अनुसार बैंकको निक्षेपको आकार बढेर ४९ अर्ब, कर्जा ४५ अर्ब पुुगेको छ । मर्जर कमिटीका सदस्य सचिव समेत रहेका भट्टराईले ९–१० महिनाको अवधिमा ५ वटा बैंक तथा बित्तीय संस्थालाई प्राप्तिको इतिहास रचेको समेत दाबी गरे ।   

सेञ्चुरी बैंकले यसअघि सगरमाथा फाइनान्स, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरिसकेको छ ।