काठमाण्डौ । राष्ट्रियस्तरका ८ वटै विकास बैंकहरुले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

वित्तीय विवरणअनुसार यी ८ वटा विकास बैंकमध्ये ३ वटाको नाफा बढेको छ भने ५ वटाको घटेको छ। अघिल्लो वर्षको तुलनामा गरिमा, कामना सेवा र लुम्बिनीको नाफा बढेको हो भने मुक्तिनाथ, शाइन रेसुंगा, सांग्रिला, ज्योति र महालक्ष्मीको नाफामा संकुचन आएको हो। 

प्रतिशतका हिसाबले कामना सेवाको नाफामा उछाल आएको छ। अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफामा १८७.५६ प्रतिशतले उकालो लागेको छ। 

यसैगरी लुम्बिनीको नाफा पनि १४३.९६ प्रतिशतले बढेको छ। गरिमाको नाफामा भने ४.२५ प्रतिशतको बढोत्तरी भएको छ। 

नाफाका आधारमा

सबैभन्दा धेरै नाफा आर्जन गर्ने विकास बैंकमा भने मुक्तिनाथ नै रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

दोस्रो धेरै कमाउने विकास बैंकमा गरिमा रहेको छ। यो बैंकले २० करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

शाइन रेसुंगा १९ करोड १६ लाख रुपैयाँका साथ तेस्रो स्थानमा रहेको छ। लुम्बिनीले पनि १७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने कामना सेवाले ११ करोड ९५ लाख रुपैयाँ कमाएको छ। 

यसैगरी महालक्ष्मीले ९ करोड ५३ लाख रुपैयाँ, ज्योतिले ५ करोड ८ लाख रुपैयाँ र सांग्रिलाले ४ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। 

वितरणयोग्य मुनाफाका आधारमा

यी ८ वटा विकास बैंकमध्ये ३ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक रहेका छन्। ऋणात्मक वितरणयोग्य मुनाफा हुनेमा महालक्ष्मी, ज्योति र सांग्रिला छन्। 

सबैभन्दा बढी वितरणयोग्य मुनाफा शाइन रेसुंगाको रहेको छ। यो बैंकको वितरणयोग्य मुनाफा ४४ करोड २९ लाख रुपैयाँ रहेको छ। 

मुक्तिनाथ ४० करोड ४४ लाख रुपैयाँ वितरणयोग्य मुनाफाका साथ दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा रहेको गरिमाको ३८ करोड ६८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। 

लुम्बिनीको ३३ करोड ३४ लाख रुपैयाँ र कामना सेवाको २ करोड ५६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। 

सञ्चालन मुनाफाका आधारमा

यो सूचकमा मुक्तिनाथ अगाडि रहेको छ। यो बैंकको सञ्चालन मुनाफा ३४ करोड २४ लाख रुपैयाँ रहेको छ। 

शाइन रेसुंगा २९ करोड ८७ लाख रुपैयाँ सञ्चालन मुनाफाका साथ दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा रहेको गरिमाको सञ्चालन मुनाफा २८ करोड ७८ लाख रुपैयाँ रहेको छ। 

यसैगरी लुम्बिनीको २५ करोड २६ लाख रुपैयाँ, कामना सेवाको १८ करोड रुपैयाँ, महालक्ष्मीको १३ करोड ९२ लाख रुपैयाँ, ज्योतिको ७ करोड २५ लाख रुपैयाँ र सांग्रिलाको ६ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको छ। 

खुद ब्याज आम्दानीका आधारमा

सबैभन्दा बढी खुद ब्याज आम्दानी गर्नेमा मुक्तिनाथ अगाडि रहेको छ। यो बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

गरिमा विकास बैंक ८८ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानीका साथ दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा रहेको ज्योति विकास बैंकले ५७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

रिजर्भका आधारमा

सबैभन्दा ठूलो रिजर्भको आकार भएको विकास बैंकमा मुक्तिनाथ नै अगाडि रहेको छ। यो बैंकको रिजर्भमा २७ करोड ९९ लाख रुपैयाँ रहेको छ। रिजर्भका आधारमा लुम्बिनी २४ करोड ८ लाख रुपैयाँ र गरिमा २३ करोड ४३ लाख रुपैयाँका साथ दोस्रो र तेस्रो स्थानमा छन्। (बाँकी टेबलमा हेर्नुहोस्)

निक्षेप संकलन र कर्जा लगानी

यी दुवै सूचकमा मुक्तिनाथ नै अगाडि रहेको छ। यो बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले ७८ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। ज्योति ६१ अर्ब ८० करोड निक्षेप संकलन र ५१ अर्ब १२ करोड कर्जा लगानीका साथ तेस्रो स्थानमा रहेको छ । (बाँकी टेबलमा हेर्नुहोस्)

प्रतिसेयर आम्दानी (ईपीएस)का आधारमा

यो सूचकमा लुम्बिनी अगाडि रहेको छ। यो बैंकको ईपीएस २०.४९ रुपैयाँ रहेको छ। शाइन रेसुंगा १७.९ रुपैयाँ ईपीएसका साथ दोस्रो र १५.५४ रुपैयाँका साथ गरिमा तेस्रो स्थानमा रहेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

पीई रेसियोका आधार

कम पीई रेसियो भएका कम्पनी सेयर बजारमा राम्रा मानिन्छन्। यस हिसाबले यो सूचकमा लुम्बिनी राम्रो देखिन्छ। यो बैंकको ईपीएस १८.२ गुणा रहेको छ। शाइन रेसुंगाको पीई रेसियो २०.०१ गुणा र कामना सेवाको २०.५१ गुणा रहेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

प्रतिसेयर नेटवर्थका आधारमा

सबैभन्दा बढी प्रतिसेयर नेटवर्थ लुम्बिनीको रहेको छ। यो बैंकको प्रतिसेयर नेटवर्थ १८१.०७ रहेको छ। त्यसपछि महालक्ष्मीको १५७.३८ रुपैयाँ र गरिमाको १५२.६९ रुपैयाँ रहेको छ।