काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत लगानीकर्ताहरुले उठाउँदै आएका सेयर धितो कर्जामा १२ करोड क्याप हटाउनुपर्ने विषयमा निरीह देखिएका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज काठमाण्डौमा वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महत प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए। कार्यक्रमलाई सम्बोधन गरेर बाहिरिने क्रममा लगानीकर्ताहरुले अर्थमन्त्री महतलाई घेराउ गर्दै १२ करोड क्याप हटाउनुपर्ने माग गरेका थिए। उनीहरुले नीतिगत व्यवस्थालाई परिमार्जन गर्दै यो व्यवस्था हटाउनुपर्ने माग गरेका थिए। 

सोही क्रममा अर्थमन्त्री महतले उल्टै लगानीकर्ताहरुलाई थर्काउँदै ‘तपाइँहरु जे पायो त्यहीमा लगानी गर्नुहुन्छ। जस्तो पायो त्यस्तै कम्पनीमा लगानी गर्नुहुन्छ । अनि डुबियो भनेर सरकारसँग गुनासो गर्ने ।’

अनि लगानीकर्ताहरुले ‘होइन, यो त पोलिसीकै कारण यस्तो भएको हो नि हजुर’ भनेर अर्थमन्त्रीलाई आफ्नो गुनासो पोखे।

त्यसपछि अर्थमन्त्री महत ‘मैले १२ करोडको क्याप हटाऊ भनेर गभर्नरलाई भनेकै हुँ, मान्दैनन् त मैले के गरुँ ?’ भनेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए।