काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एक दर्जन बीमा कम्पनीको विस्तृत लेखा परीक्षण (डीडीए) गरिदिने भएको छ । 

बीमा कम्पनीको सम्पत्ति तथा दायित्वको हरहिसाब खुल्ने गरी विस्तृत लेखा परीक्षण गर्नुपर्ने भएकोले प्राधिकरणले पहिचान भएका १२ वटा कम्पनीको डीडीए गर्न लागेको हो । 

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ मा डीडीए गर्नुपर्ने गरी पहिचान भएका एक दर्जन बीमा कम्पनीहरुको डीडीए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरुका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको छ । 

प्राधिकरणले प्रतिबीमक कस्ट अफ आरएफपी बिड डकुमेन्ट २ हजार रुपैयाँ र न्यूनतम बीड सेक्युरिटि रकम २० हजार रुपैयाँ तोकेको छ । इच्छुक चार्टर्ड एकाउन्टेन्टहरुले आगामी पुस २४ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने छन् । 

बीमा कम्पनीहरुले डीडीए आफैं गर्नुपर्ने कानूनी प्रावधान छ । अधिकांश कम्पनीले आफैंले नै डीडीए गरिसकेको र गर्न बाँकी रहेका १२ वटा कम्पनीको डीडीएका लागि प्राधिकरण आफैंले अडिटर छनोट गरिदिन लागेको प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिक्षानेले बताए । 

‘१२ वटा कम्पनीको डीडीएका लागि प्राधिकरणले चार्टर्ड एकाउन्टेन्ट छनोट गरिदिन प्रस्ताव आह्वान गरेको हो, अडिटरले तीन महिनाभित्र डीडीएको काम सक्नुपर्नेछ’, ती अधिकारीले भने । उनका अनुसार डीडीए गर्दा लाग्ने शुल्क भने बीमा कम्पनीहरुले नै भुक्तानी गर्नुपर्ने छ ।