काठमाण्डौ । प्रति कित्ता १ हजार २ सय भन्दा बढीमा कारोबार भएको नेरुडे लघुवित्त विकास बैंकको सेयर सस्तोमै किन्ने अवसर खुलेको छ। यो बैंकले बिक्री नभएका १ लाख ८ हजार ७ सय ३६ कित्ता हकप्रद आगामी असार १३ गतेदेखि लिलामीबाट बिक्री गर्ने भएको हो । 

यो माइक्रो फाइनान्स जारी गरेको एक सूचना अनुसार बिक्री नभएका ९३ हजार ९ सय ७७ संस्थापक सेयर र १४ हजार ७ सय ५९ कित्ता साधारण गरी कुल १ लाख ८ हजार ७ सय ३६ कित्ता सेयर लिलामीबाट बिक्री गरिने स्पष्ट पारेको छ  ।

यो माइक्रो फाइनान्स कम्पनीले २०७३ चैत १४ गतेदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्रीका लागि निश्कासन गरेको थियो । तर, निश्कासित सेयर सबै बिक्री भएन । 

असार १३ गतेदेखि खुल्ने लिलामीको प्रक्रियामा असार २० गतेसम्म सहभागी हुन सकिनेछ । लिलामीको अन्तिम नतिजा असार २१ गते प्रकाशन हुने बताइएको छ । 

लिलामीमा सहभागी हुन चाहनेले न्यूूनतम १ सय रुपैयाँ प्रतिकित्ता मूल्य र बढीमा अवस्था हेरेर मूल्य बोल गर्नुपर्नेछ र न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनैपर्नेछ । 

यो कम्पनीको बिक्री नभएको सेयर लिलामीको प्रक्रियामा सनराइज क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको मुुख्य कार्यालयमा गएर लिलामीका लागि बिड गर्न सक्नेछन् । 

नेरुडे लघुवित्त विकास बैंकको सोमबारको अन्तिम कारोबार मूल्य प्रति कित्ता १ हजार २ सय ८५ रुपैयाँ रहेको छ ।