काठमाण्डौ । तरलता अभावको समस्या टार्ने भन्दै बैंकहरुबीच निक्षेप तान्न ब्याजदर बढाउने होडबाजी चलिरहेको बेला नवील बैंकले १३.०२ प्रतिशतमा निकै ठूलो संस्थागत डिपोजिट लिएपछि बैंकहरुबीच खैलाबैला मच्चिएको छ । 

नबील बैंकले नेपाल टेलिकम र अर्को एक संस्थानबाट ठूलो रकम १३.०२ प्रतिशत ब्याजदर दिने गरी मुद्धती निक्षेपको रुपमा स्वीकार गरेको खबर मंगलबार साँझ ठूला बैंकहरुमा भाइरल भएको छ । यो खबरसँगै ब्याजदर वृद्धिको दवाबमा बैंकहरु परेका छन् भने कर्जाको ब्याजदरले डाँडा काट्नसक्ने अवस्था देखिएको छ । कर्जाको ब्याजदर निकै माथि पुुग्ने अवस्थासँगै यसले पूँजीबजारलाई समेत अझ बढी कमजोर बनाइदिने र समग्र अर्थतन्त्रलाई समस्याग्रस्त पारिदिने भन्दै बैंकरहरुले चिन्ता व्यक्त गरेका छन् । 

निक्षेप तानातानको होडबाजीकै बीच सोमबारसम्म बैंकहरुले अघोषित रुपमा १२ प्रतिशतसम्म संस्थागत निक्षेप स्वीकार गरिरहेका थिए । योपटक ब्याजदर १२ प्रतिशतको सीमामै रहने आँकलन विपरीत नवील बैंकले १३.०२ प्रतिशतमा ठूलो निक्षेप उठाइदिएपछि यसले समस्या सुरु भएको बैंकरहरुको दाबी छ । 

‘सही ढंगले अगाडि बढ्न खोज्दा समेत ब्याजदरको होडबाजीले हामीलाई समेत समस्या पारिदियो ।’ एक वाणिज्य बैंकका सीइओले बिजशालासँग भने–‘अब पनि राष्टबैंकले चूप लागेर बस्यो भने समस्या अझ विकराल बन्नेछ ।’ 

उनले बैंकहरुले समेत सम्हालिएर अगाडि बढ्नुुपर्ने उल्लेख गरे । 

१२ प्रतिशतको सीमा निर्धारण गर्न माग
तरलता अभावलाई टार्ने नाममा गत वर्ष समेत बैंकहरुबीच निक्षेप तान्ने होडबाजी चलेको थियो । सो क्रममा नेपाल बैंकर्स एशोसिएसनले ब्याजदरमा क्याप लगाएर जथाभावी दर वृद्धिलाई रोक्ने प्रयास गरेको थियो । सो प्रयासको प्रभावकारी कार्यान्वयन नभए पनि त्यसले बैंकहरुको मनपरीलाई थोरै भए पनि नियन्त्रण गरेको थियो । बैंकरहरुले नवीलले १३.०२ प्रतिशतमा ठूलो संस्थागत निक्षेप लिएपछि अस्वस्थ प्रतिस्पर्धा तीव्र भई अवस्था भयावह हुने भन्दै नेपाल बैंकर्स एशोसिएसनका अधिकारीहरुलाई तत्काल भेला बोलाएर स्वनियमनका लागि १२ प्रतिशतको क्याप(सीमा) निर्धारण गर्न माग गरेका छन् । उनीहरुले अहिलेको अवस्थामा ब्याजदर १२ प्रतिशत भन्दा नबढाउने बैंकहरुले सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्ने र व्यवहारमा सो कार्यान्वयन भएको खण्डमा निक्षेप तानातानमा अहिले दिएको अस्वस्थ प्रतिस्पर्धा कम हुने दाबी गरेका छन् । यो बिषयमा कुरा गर्न खोज्दा बैंकर्स एशोसिएसनका कुनै पनि अधिकारीले मुख खोल्न चाहेनन् । 

बैंकरहरुले बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धाको चरम उत्कर्ष चलिरहँदा समेत नियामक निकाय मूकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ठूला बैंकलाई नियमनकारी निकायले काखी च्याप्ने र सानालाई नियम लाद्ने गरेको भन्दै समान व्यवहार गर्न केन्द्रीय बैंकलाई आग्रह गरेका छन् । 

के भन्छ नवील ?
नवील बैंकका कुनै पनि अधिकारीले खुलेर कुरा गर्न चाहेनन् । तर, एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा दूरसंचार प्रदायक कम्पनी एनसेललाई निकै ठूलो रकम विदेश लैजाने अनुमति दिइएकोले उसले बैंकमा राखेको निकै ठूलो रकम झिक्ने र यस्तो अवस्थामा बैंकलाई अप्ठ्यारो पर्ने आँकलनका बीच महंगोमै भए पनि संस्थागत निक्षेप स्वीकार गरिएको हो । ‘एनसेलको नाममा बैंकमा रहेको ठूलो रकम झिकिएपछि हामीलाई तरलता अभावले झनै थिलथिलो बनाउने छ ।’ ती कर्मचारीले भने–‘संभावित जोखिमका लागि अहिलेदेखि नै तयार भइएन भने हामीलाई निकै अप्ठ्यारो पर्नेछ ।’