काठमाण्डौ । प्रतिकित्ता १४०० भन्दा बढी मूल्यमा कारोबार भइरहेको डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडको सेयर सस्तैमा पाउने अवसर खुलेको छ ।

यो लघुवित्त विकास बैंकले बिक्री नभएको १५ हजार ९ सय ६९ कित्ता साधारण सेयर लिलामीबाट बिक्री गर्ने भएको हो ।  

यो माइक्रो फाइनान्स कम्पनीले आइतबार एक सूचना प्रकाशित गरी चैत ७ गतेदेखि निश्कासित १ बराबर १ को दरको हकप्रदमध्ये बिक्री नभएको साधारण सेयर लिलामीमा राखेको हो ।

असार ४ गते(आज)देखि लिलामीमा सहभागी हुन चाहनेले बिड गर्नुपर्ने र असार ११ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । लिलामीको अन्तिम नतिजा असार १३ गते दिउँसो ३ बजे प्रकाशन गरिने बैंकले जनाएको छ । लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ताको मूल्य न्यूनतम १ सय रुपैयाँ राख्नुुपर्ने र न्यूनतम १ सय कित्तादेखि अधिकतम १५ हजार ९ सय ६९ कित्ताकै लागि समेत बिड गर्नसक्ने बताइएको छ। नबील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले डिप्रोक्सको सेयर लिलामीमा बिक्री प्रबन्धकको काम गर्नेछ ।

काठमाण्डौको नक्सालस्थित बिक्री प्रबन्धकको कार्यालयमा गएर इच्छुक सेयरधनीले लिलामीको प्रस्ताव पेश गर्नसक्ने छन् । यो लघुवित्त विकास बैंकको गत बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४४४ रुपैयाँ रहेको छ । यो लघुवित्त विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २० करोड ८५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।