काठमाण्डौ । जीवन बीमा क्षेत्रमा उत्कृष्ट व्यवसाय गर्ने ४ ठूला कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म वित्तीय सूचकहरु उल्लेख्य प्रगति गरेका छन्। 

नेपाल लाइफ, नेसनल लाइफ, हिमालयन लाइफ र एलआईसी नेपालले खुद मुनाफालगायतका विभिन्न सूचकहरुमा प्रगति गरेका हुन्। यी कम्पनीहरुले कोषको आकार बढाउनुका साथै बीमा व्यवसाय, आम्दानी, अभिकर्ता कमिसन, ईपीएस, नेटवर्थलगायतका विभिन्न सूचकमा के–कस्तो प्रगति गरेका छन् ? हामीले केलाउने प्रयास गरेका छौँ। 

१० अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका यी ४ कम्पनीलाई विभिन्न सूचकहरुमा दाँजेर हेर्दा 

कोषका आधारमा (जीवन बीमा, जगेडा र महाविपत्ति) 

जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष महत्वपूर्ण सूचक हो। कम्पनीहरुले वित्तीय विवरणमा यस्तो कोष छुट्याएका हुन्छन् र जीवन बीमा कोषमा केही प्रतिशत रकम सञ्चित गरेर राख्नुपर्ने प्रावधानसमेत रहेको छ। 

गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा जीवन बीमा कोषमा बढी रकम सञ्चित गर्नेमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले एक खर्ब ६३ अर्बमाथि रकम सञ्चित गर्न सफल भएको छ। 

त्यस्तै दोस्रोमा एलआईसी नेपालले पनि १ खर्बमाथि नै जीवन बीमा कोषमा सञ्चित गरेको छ। कम्पनीले १ खर्ब ७ अर्ब रुपैयाँ सञ्चित गरेको छ। 
त्यस्तै, नेसनल लाइफले ६० अर्ब र हिमालयन लाइफले ५२ अर्ब रुपैयाँमाथि सञ्चित गर्न सफल भएको छ। 

यता जगेडा कोषमा भने सबैभन्दा बढी एलआईसी नेपालले सञ्चित गरेको छ। कम्पनीहरुले केही प्रतिशत रकम जगेडामा सञ्चित गरेको हुन्छ। सेयरधनीहरुलाई प्रतिफल दिन वा कर्मचारीलाई बोनस र व्यवस्थापनका कुरामा खर्च गर्न कम्पनीले केही प्रतिशत रकम जगेडमा सञ्चित गरेको हुन्छ। 

एलआईसी नेपालले यस्तो कोषमा १ अर्ब २७ करोड रुपैयाँ सञ्चित गरेको छ। यसका साथै हिमालयन लाइफले पनि असार मसान्तसम्म १ अर्ब ६ करोड रुपैयाँ यस्तो कोषमा सञ्चित गरेको छ। नेपाल लाइफले ६४ करोड ९७ लाख रुपैयाँ र नेसनल लाइफले ४० करोड ७९ लाख रुपैयाँ सञ्चित गरेको छ। 

त्यस्तै, महाविपत्ति कोषका आधारमा भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। जीवन बीमा कम्पनीहरुले भविष्यमा हुन सक्ने जोखिम बहनका लागि यस्तो कोष बनाएका हुन्छन्। आम्दानी हुने केही प्रतिशत रकम जोखिम बहनका लागि भनेर महाविपत्ति कोषमा छुट्याएर राख्नुपर्ने हुन्छ। नेपाल लाइफले यस्तो कोषमा ९८ करोड रुपैयाँ छुट्याएको छ। 

दोस्रोमा नेसनल लाइफले ४६ करोड रुपैयाँ, हिमालयन लाइफले ४४ करोड रुपैयाँ र एलआईसी नेपालले ४२ करोड रुपैयाँभन्दा बढी यस्तो कोषमा सञ्चित गरेको छ। 

व्यवसायका आधारमा 

व्यवसायका आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स अब्बल देखिएको छ। पुरानो तथा ठूलो कम्पनीका आधारमा पनि व्यवसायमा मापन गर्ने भएकोले नेपाल लाइफले अन्य कम्पनीको तुलनामा बढी व्यवसाय गर्नु स्वभाविक नै हो। नेपाल लाइफले असार मसान्तसम्म ३६ अर्बमाथि खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। 

दोस्रोमा एलआईसी नेपाल रहेको छ। एलआईसी नेपालले १७ अर्ब रुपैयाँ माथिको व्यवसाय गरेको छ भने तेस्रोमा नेसनल लाइफले १५ अर्ब रुपैयाँ माथिको व्यवसाय गरेको छ। हिमालयन लाइफले पनि १४ अर्ब रुपैयाँ माथि खुद बीमा शुल्क आर्जन गरेको छ। 

खुद नाफाका आधारमा 

बीमा कम्पनीहरुले विभिन्न सूचकमार्फत मुनाफा आर्जन गरेका हुन्छन्। लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानीमार्फत बीमा कम्पनीहरुले नाफा भित्र्याएका हुन्छन्। गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ। नेपालले ६७ करोड ४४ लाख रुपैयाँ माथि खुद नाफा कमाएको छ। 

त्यस्तै, दोस्रो बढी नाफा कमाउने हिमालयन लाइफ रहेको छ। कम्पनीले यो अवधिसम्म ५८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ। नेसनल लाइफले ३६ करोड ४५ लाख रुपैयाँ र एलआईसी नेपालले १२ करोड ४६ लाख रुपैयाँमात्रै नाफा कमाएको छ। 

लगानी, कर्जा तथा अन्य आयका आधारमा 

जीवन बीमा कम्पनीहरुको नाफा आर्जन गर्ने बाटो भनेको लगानी गर्ने, कर्जामार्फत ब्याज प्राप्ति तथा अन्य प्रत्यक्ष आयमार्फत कम्पनीहरुले नाफा आर्जन गरेका हुन्छन्। यसै आधारमा असार मसान्तसम्म सबैभन्दा बढी यस्तो आम्दानी गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले १५ अर्ब रुपैयाँ माथि यस्तो आम्दानी गर्दा एलआईसी नेपालले पनि १० अर्ब ८८ करोड रुपैयाँ बढी यस्तो आम्दानी गरेको छ। 

त्यस्तै, नेसनल लाइफले ५ अर्ब ७७ करोड रुपैयाँ र हिमालयन लाइफले ५ अर्ब ५० करोड रुपैयाँ माथि लगानी, कर्जा तथा अन्यबाट आम्दानी गरेका छन्। 

अभिकर्ता कमिसन र व्यवस्थापन खर्चका आधारमा 

जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई पहिलो वर्ष प्रिमियम रकमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र त्यसपछि ८ वर्षसम्म ५ प्रतिशतका दरले कमिसन प्रदान गरेको हुन्छ। 

गत वर्षको असार मसान्तसम्म सबैभन्दा बढी नेपाल लाइफले ३ अर्ब १० करोड रुपैयाँ माथि अभिकर्ता कमिसन छुट्याएको छ। 

दोस्रोमा नेसनल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ, एलआईसी नेपाललले १ अर्ब ४३ करोड र हिमालयन लाइफले १ अर्ब ४१ करोड रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका छन्। 

यसका साथै व्यवस्थापन खर्च बढ्नु भने कम्पनीका लागि त्यति राम्रो मानिँदैन। व्यवस्थापन खर्च बढ्दा कम्पनीको मुनाफामा संकुचन आउन सक्ने संकेत देखिन्छ। असार मसान्तसम्म सबैभन्दा बढी यस्तो खर्च बढ्ने कम्पनीमा पनि नेपाल लाइफ नै रहेको छ। कम्पनीको व्यवस्थापन खर्च २ अर्ब ५१ करोड रुपैयाँ माथि पुगेको छ। 

त्यस्तै, हिमालयन लाइफले पनि व्यवस्थापनमा १ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको छ भने नेसनल लाइफले १ अर्ब २२ करोड रुपैयाँ र एलआईसी नेपालले ८९ करोड रुपैयाँ मात्रै व्यवस्थापनमा खर्चेका छन्। 

दाबी भुक्तानीको आधारमा 

बीमा कम्पनीहरुमा जति बढी दाबी भुक्तानी बढ्यो उति नै बढी बीमितप्रति कम्पनी विश्वसनीय बन्दै जान्छ। बीमा कम्पनीहरु बीमितमैत्री हुन जरुरी छ। बीमितले दाबी भुक्तानीका लागि प्रस्ताव गरेको खण्डमा बीमा कम्पनीले त्यसको मूल्यांकन गरी भुक्तानी प्रक्रिया अघि बढाएमा बीमितप्रति कम्पनीको साख बढ्ने सम्भावना रहन्छ। 

गत आर्थिक वर्षको अन्त्यमा सबैभन्दा बढी नेपाल लाइफले १५ अर्ब ४३ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ। त्यस्तै एलआईसी नेपालले ८ अर्ब ९६ करोड रुपैयाँ, नेसनल लाइफले ७ अर्ब ८१ करोड रुपैयाँ र हिमालयन लाइफले ५ अर्ब ४५ करोड रुपैयाँ दाबी भुक्तानी दिएको छ। 

कायम पोलिसी संख्याका आधारमा 

कायम पोलिसी अर्थात कायम बीमालेख संख्याको आधारमा नेसनल लाइफ अगाडि रहेको छ। कम्पनीको बीमालेख संख्या कुल १७ लाख ५१ हजारभन्दा बढी रहेको छ। 

त्यस्तै, नेपाल लाइफको ११ लाख ५ हजार, हिमालयन लाइफको ५ लाख ७८ हजार र एलआईसी नेपालको ६९ हजार भन्दा बढी रहेको छ। 

चुक्तापुँजीका आधारमा 

चुक्तापुँजीका आधारमा नेपाल लाइफ र हिमालयन लाइफ अब्बल रहेका छन्। नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड र हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ रहेको छ। 

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएसँगै साबिक युनियन, गुराँस र प्राइम लाइफ एकआपसमा गाभिएर हिमालयन लाइफ कम्पनी बनेको हो। यसकारण कम्पनीको पुँजी ८ अर्ब बढी हुन पुगेको हो। नेपाल लाइफको पुँजी भने अगावै पुगिसकेको थियो। 

यता नेसनल लाइफको पुँजी पनि ५ अर्ब १ करोड रहेको छ। कम्पनीको पुँजी पनि तोकिएको न्यूनतम चुक्तापुँजी पुगिसकेको छ। एलआईसी नेपालको पुँजी भने जम्मा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीले ८८ प्रतिशत हकप्रद जारी गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाइसकेको छ। हकप्रदपश्चात् कम्पनीको पुँजी ५ अर्ब पुग्नेछ। 

ईपीएस र नेटवर्थका आधारमा 

सेयरमा लगानी गर्नेका लागि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) महत्वपूर्ण सूचक हो। कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै ईपीएस हो। लगानीकर्ताले ईपीएसकै आधारबाट कम्पनीले दिन सक्ने लाभांशसमेत अनुमान गर्न सक्छन्। 

उच्च प्रतिसेयर आम्दानीले धेरै लाभांश दिन सक्ने क्षमतालाई जनाउँछ। चौथो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस नेपाल लाइफको रहेको छ। कम्पनीको ईपीएस ८.२२ रुपैयाँ रहेको छ। 

त्यस्तै, नेसनल लाइफको ७.२७ रुपैयाँ, हिमालयन लाइफको ७.२५ रुपैयाँ र एलआईसी नेपालको ४.७ रुपैयाँ रहेको छ। 

यसैगरी प्रतिसेयर नेटवर्थ पनि कम्पनीको महत्वपूर्ण सूचक मानिन्छ। नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ वा छैन भन्ने मूल्यांकन गर्न सकिन्छ। नेटवर्थको वृद्धिदरले कम्पनीको दायित्व घटिरहेको छ भन्ने देखाउँछ। यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ। 

गत आर्थिक वर्षमा सबैभन्दा बढी नेटवर्थ एलआईसी नेपालको रहेको छ। कम्पनीको नेटवर्थ १६४.२५ रुपैयाँ रहेको छ। त्यस्तै, नेपाल लाइफको ११८.८४ रुपैयाँ, हिमालयन लाइफको ११८.८३ रुपैयाँ र नेसनल लाइफको ११७.८४ रुपैयाँ रहेको छ। 

पीई रेसियोका आधारमा 

लगानीकर्ताका लागि सेयरमा लगानी गर्नका लागि मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचक पनि महत्वपूर्ण मानिन्छ। कम्पनीको कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने यो सूचकले देखाउँछ। 

यसको हिसाब गर्दा सेयर बजारमा कारोबार हुँदा कायम भएको पछिल्लो मूल्यलाई लिइन्छ। यो मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर निकालिन्छ। कम्पनीको मूल्य आम्दानी अनुपात १८ देखि २५ गुणा हाराहारीमा भएको राम्रो मानिन्छ। जति बढी पीई रेसियो उति नै बढी जोखिम हुन सक्ने सेयरविज्ञहरु बताउँछन्। 

असार मसान्तसम्म सबैभन्दा कम पीई रेसियो हिमालयन लाइफको रहेको छ। कम्पनीको पीई रेसियो ६९.९५ गुणा, नेसनल लाइफको ८८.८२ गुणा, नेपाल लाइफको ९०.५५ गुणा र एलआईसी नेपालको ३३०.९३ गुणा रहेको छ। 

प्रतिसेयर कुल सम्पत्तिको मूल्यका आधारमा 

बीमा कम्पनीहरुले वित्तीय रिपोर्टमा प्रतिसेयर कुल सम्पत्तिको मूल्य सूचक पनि छुट्याएको हुन्छ। लगानीकर्ताका लागि सेयर खरिदमा यो पनि एउटा प्रमुख सूचक मान्न सकिन्छ। कम्पनीको प्रतिसेयर कुल सम्पत्ति के–कति रहेको छ ? त्यसैका आधारमा जोखिमांकन मापन गर्न सकिन्छ।

गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी यस्तो मूल्य एलआईसी नेपालको रहेको छ। कम्पनीको यस्तो मूल्य ४ हजार ५६८ रुपैयाँ रहेको छ। त्यस्तै, नेपाल लाइफको २ हजार १९४ रुपैयाँ, नेसनल लाइफको १ हजार ४०६ रुपैयाँ र हिमालयन लाइफको ७८३ रुपैयाँ रहेको छ।