काठमाण्डौ । पैसा हुँदा सेयरधनीलाई हकप्रद पनि एउटा अवसर हो । अझ राम्रा कम्पनी र उच्च मूल्य भएका कम्पनीको हकप्रद सेयरधनीका लागि अर्को सुन्दर अवसर हो ।

बजारमा प्रति कित्ता १८ सय रुपैयाँ भन्दा माथि कारोबार भइरहेको एभरेष्ट बैंकका सेयरधनीलाई समेत यस्तै अवसर आएको छ । धितोपत्र बोर्डले एभरेष्ट बैंक लिमीटेडलाई १ बराबर ३(३३.३३ प्रतिशत) हकप्रद निश्कासनको स्वीकृति दिएपछि सेयरधनीले १८ सय मूल्यको सेयर १ सय रुपैयाँमै पाउने भएका हुन् ।

योसँगै अब एभरेष्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद आफ्ना सेयरधनीका लागि निश्कासन गर्नेछ ।

हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले गर्नेछ ।

२०७३ पुस २३ गते बसेको बैंकको साधारणसभाले कायम चुक्तापुँजीको ३३.३३ प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको थियो ।

हाल यो बैंकको चुक्तापुँजी ४ अर्ब ६० करोड रुपैयाँ छ । हकप्रद निश्कासनपछि ६ अर्ब ३ करोड पुग्ने बताइएको छ ।

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५२ करोड खुद नाफा कमाएको छ । बुधबार यो बैंकको अन्तिम सेयर बिक्री मूल्य १ हजार ८ सय १ रुपैयाँ रहेको छ ।