काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा असोज महिनामा मात्रै १ अर्ब १८ करोड २९ लाख रुपैयाँको बीमा पोलिसी त्याग(सरेण्डर) भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीबाट १ अर्ब रुपैयाँभन्दा बढीको पोलिसी त्याग भएको हो । जीवन बीमा कम्पनीहरुमा विशेषगरी आर्थिक संकटका कारण बीमा अवधि नसकिंदै बीमा पोलिसी त्याग गर्नेहरुको संख्या बढ्दै गइरहेको छ ।

तर चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डरदर मासिक रुपमा भने नियन्त्रण भएको देखिएको छ । 
चालू आवको पहिलो महिना अर्थात् साउनमा मात्रै १ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको थियो । त्यस्तै, भदौ महिनामा सरेण्डरको मात्रा केही प्रतिशत घटेर १ अर्ब १८ करोड २० लाख रुपैयाँको भएको  थियो। 

त्यस्तै, असोज महिनामा मात्रै जीवन बीमा कम्पनीहरुबाट एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । चालू आवको पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुबाट कुल ३ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । 

असोज महिनामा मात्रै ९ हजार ९३६ वटा बीमालेख त्याग गरिएको छ । उक्त महिनामा जीवन बीमा कम्पनीहरुका बीमितले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।

असोज महिनामा मात्रै सबैभन्दा धेरै सरेन्डर नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । उक्त महिनामा कम्पनीको ३८ करोड ९३ लाख रुपैयाँ बराबरको २ हजार ६४९ वटा बीमालेख सरेन्डर भएको छ ।

सरेन्डर रकम र संख्याको आधारमा दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल देखिएको छ । असोजमा मात्रै कम्पनीको २६ करोड २ लाख रुपैयाँ बराबरको १ हजार ८१५ वटा बीमा पोलिसी सरेन्डर भएको छ।

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको सरेडन्डर रकम ९ करोड ७१ लाख, नेशनल लाइफको ९ करोड ४९ लाख, सूर्यज्योति लाइफको ८ करोड ८५ लाख र हिमालयन लाइफको ९ करोड ७७ लाख रुपैयाँ रहेको छ । यी कम्पनीहरुको क्रमशः १ हजार ६५, ८४९, ६२१ र ८५५ वटा बीमालेख बन्द भएका छन्।

यता, एशियन लाइफको पनि ६ करोड ५१ लाख रुपैयाँ बराबरको ७५८ वटा, मेट लाइफको ३ करोड ६७ लाख रुपैयाँ बराबरको ४०८ वटा, सानिमा रिलायन्सको १ करोड ६१ लाख बराबरको १४३ वटा बीमालेख सरेन्डर भएको छ ।

यस्तै, प्रभु महालक्ष्मीको १ करोड २६ लाख रुपैयाँ बराबरको ११४ वटा,आइएमई लाइफको १ करोड ५२ लाख बराबरको १६४ वटा, सिटिजनको १ लाख १४ हजार बराबरको २५६ वटा बीमालेख सरेन्डर भएको छ ।

यस्तै, असोजमा रिलायवल नेपालको ९५ लाख रुपैयाँ बराबरको १६४ वटा र सन नेपाल लाइफको ७९ लाख रुपैयाँ बराबरको ७५ वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।