काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी नेस्ले इन्डियाले स्टक स्प्लिट गर्ने भएको छ ।
कम्पनीले पहिलो पटक सेयरधनीका लागि १ : १० अनुपातमा स्टक स्प्लिट गर्न लागेको हो ।कम्पनीको सञ्चालक समितिले गत अक्टोबरमा नै १: १० को अनुपातमा स्टक विभाजन स्वीकृत गरेको थियो । यसको अर्थ लगानीकर्ताले राखेको प्रत्येक सेयरलाई १० सेयरमा विभाजन गरिनेछ ।
कम्पनीले एक्सचेन्ज फाइलिङमा पेश गरेको प्रतिवेदनमा १० रुपैयाँ अंकित मूल्यको प्रत्येक इक्विटी सेयरलाई १ रुपैयाँ अंकित मूल्यका १० इक्विटी सेयरमा उपविभाजन गरिने उल्लेख छ।
कम्पनीको इक्विटी सेयरको तरलता बढाउन र इक्विटी सेयरलाई थप सस्तो बनाएर खुद्रा लगानीकर्ताको सहभागिता बढाउन यस्तो गरिएको बताइएको छ ।
मंगलबार कम्पनीको प्रतिकित्ता सेयरमूल्य २५ हजार ४१० भारु छ। यो मूल्यको सेयरमा पहुँच पुग्नु धेरै लगानीकर्ताहरूको लागि टाढाको विषय हो ।
जब स्टक विभाजित हुनेछ तब कम्पनीको सेयरमा अरु लगानीकर्ताहरुको पहुँच विस्तार हुने छ । करिब दुई दशकपछि कम्पनीले सेयर विभाजनको घोषणा गरेको यो पहिलो पटक हो ।
नेस्ले स्विट्जरल्यान्डमा आधारित विश्वको सबैभन्दा ठूलो खाद्य तथा पेय कम्पनी हो। नेस्ले इन्डिया भने स्वीस कम्पनी को भारतीय इकाई हो । जसले ब्रान्डेड दूध उत्पादन र अन्य खाद्य वस्तुहरूको उत्पादन तथा बजारीकरण गरिरहेको छ। यो म्यागी चाउचाउ, सूप र ससका लागि पनि प्रसिद्ध छ।
नेस्लेले जुलाईदेखि सेप्टेम्बरको त्रैमासिकमा ९०८ करोड भारु खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा नाफा झण्डै ३८ प्रतिशतले बढेको छ ।
के हो स्टक स्प्लिट ?
जब कुनै कम्पनीले हाल कायम सेयरलाई अतिरिक्त सेयरमा विभाजन गरी सेयर संख्या बढाउँछ भने त्यसलाई ‘स्टक स्प्लिट (सेयर टुक्र्याउने) भनिन्छ । यसले महँगा कम्पनीको सेयरलाई अझै साना–इकाईहरुमा विभाजन गराउँछ ।
अर्थात् यस प्रक्रियाले महँगा र ब्लूचीप कम्पनीको सेयरमा साना तथा सर्वसाधारण लगानीकर्ताको पहुँच बढाउन सहयोग पुग्दछ ।
उदाहरणका लागि, कुनै कम्पनीले १ बराबर २ अनुपातमा स्टक स्प्लिट गर्छ भने प्रत्येक लगानीकर्तासँग रहेको सेयर दोब्बर हुन जान्छ । यस्तै, १ बराबर ३ अनुपातमा स्प्लिट हुँदा एउटा सेयर ३ वटा सेयरमा परिणत हुन्छ ।
यसबाट सेयरधनीको संख्या थपिन सक्छ । तर स्टक स्प्लिट भए पनि कम्पनीको समग्र भ्याल्यू भने एउटै रहन्छ । स्प्लिटका कारण कम्पनीको दोस्रो बजारमा सेयर भाउ घटे पनि बजार पूँजीकरण भने समान रहन्छ । स्प्लिटले सेयरको संख्या मात्र बढाउने हो ।
स्टक स्प्लिट किन गरिन्छ ?
कम्पनीले स्टक स्प्लिट विभिन्न कारणहरुले गर्दा गर्ने गर्दछ । स्टक स्प्लिटले कम्पनीलाई प्रत्यक्षरुपमा कुनै आर्थिक लाभ भने दिँदैन । यद्दपि, कम्पनीको सेयरमा कम पूँजी भएका आम लगानीकर्ताको पहुँच पुरयाउन भने सकिन्छ । जसको व्यवहारगत लाभ भने कम्पनीलाई मिल्न सक्छ ।
यहाँ, कम्पनीले स्टक स्प्लिट गर्नुका तीन मुख्य कारणहरुको चर्चा गरिएको छ ।
१.स्टकलाई सर्वसुलभ बनाउन
स्टक स्प्लिटको मुख्य उद्देश्य महँगो रहेको सेयर भाउ कम गर्नु हो । विशेषगरी, एउटै इन्डस्ट्रीमा रहेका अन्य कम्पनीको तुलनामा कुनै कम्पनीको सेयर भाउ निकै महँगो छ भने स्टक स्प्लिट गरी घटाइन्छ । जसले उक्त कम्पनीको स्टकमा आम लगानीकर्ताको सर्वसुलभ पहुँच पुर्याउँछ ।
२. अधिक तरलता सृजना गर्न
स्टक स्प्लिटले सेयर भोल्यूम बढाउँछ । जसले तरलता कायम गरी सेयर कारोबारमा पनि सहजता ल्याउँछ । उचित मूल्यमा सेयरको खरिदबिक्री गर्न सजिलो हुन्छ ।
३. लगानीकर्तालाई आकर्षण गर्न
सामान्यतयः स्टक स्प्लिट गर्ने कम्पनीलाई सफल कम्पनीको रुपमा लिने गरिन्छ । सेयर भाउ उच्च भएर घटाउनकै लागि कम्पनीले स्टक स्प्लिट गर्छ भने त्यो कम्पनी लगानीका लागि उचित पनि हो । यसमा लगानीकर्ताको आकर्षण पनि बढ्छ । स्प्लिटपछि सुरुवातमा सेयरको भाउ घटे पनि अन्त्यमा पुनः बढ्ने सम्भावना धेरै हुन्छ ।
नेपालका सन्दर्भमा कुरा गर्दा स्टक स्प्लिटको अवधारणा हालसम्म नेपाली पूँजीबजारमा व्यवहारत कार्यान्वयन हुन सकेको छैन।अन्तरराष्ट्रिय अभ्यास अनुसार नियामकीय व्यवस्थामा परिमार्जन हुन नसक्दा बहुराष्ट्रिय कम्पनी युनिलिभर, बोटलर्सजस्ता आकर्षक कम्पनीमा ठूला लगानीकर्ताको मात्रै सेयर स्वामित्व रहेको छ।
दोस्रोबजारमा ज्यादै कम आपूर्ति र अचाक्ली महँगो मूल्यका कारण ती कम्पनीका सेयरहरुमा आम लगानीकर्ताको पहुँच पुग्न छाडेको छ । केहि समयअघि नेपाल लाइफ इन्स्योरेन्सले स्टक स्प्लिटको प्रस्ताव अगाडि ल्याएको थियो ।
विशेषगरी कम्पनी ऐन तथा धितोपत्र नियमावली पूँजीबजार मैत्री नहुँदा सुरुवाती चरणमै उक्त कम्पनी पनि सेयर विभाजनको प्रक्रियाबाट पछि हटेको छ।
कम्पनीले २० औं साधारणसभाबाट ५० रुपैयाँका दरले सेयर विभाजन गर्ने प्रस्ताव पारित गरी पुन: प्रबन्धपत्र र नियमावलिमा संशोधन गरेता पनि तत्कालिन बीमा समिति सकारात्मक हुन नसक्दा यो प्रक्रिया नै स्थगित गरेको अवस्था छ ।-एजेन्सीहरुको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19