नयाँदिल्ली । एक्काईस दिन लामो लकडाउनको घोषणा भएको भोलिपल्ट भारतीय सेयर बजारमा उछाल आएको छ । 

बुधबार कारोबार खुलेबित्तिकै रातो भएको बजार केही समयपछि नै ग्रीन जोनमा प्रवेश गर्दै बन्द हुँदासम्म उच्च अंकको वृद्धि भएको हो । 

दिउँसो १ बजेको आसपास सेन्सेक्स १३२७ अंकको उछालसहित २८००१ को विन्दूमा पुगेको थियो । यस्तै निफ्टी इण्डेक्समा पनि उस्तै उछाल देखियो । 
कारोबार बन्द हुँदा सेन्सेक्स १८२०.२७ अंक तथा निफ्टी ४९६.७५ अंकले बढ्यो । 

भारतीय मिडियाहरुका अनुसार रिलायन्स इण्डस्टिज, एचडिएफसी तथा एचडीएफसी बैंकको सेयरमा भारी खरीदारीका कारण बजारमा उछाल आएको हो । यी कम्पनीले बजार माथि उठाउन करिब ११०० अंकको योगदान गरेका थिए । 

रिलायन्स इण्डिस्टजको सेयर मूल्यमा यो दिन २१ प्रतिशतको बढोत्तरीसँगै ११४१ भारुको उचाईमा पुग्यो । 

अमेरिकाले अर्थव्यवस्थामा देखिएको मन्दीलाई रिकभर गर्न २ लाख करोड डलरको राहात प्याकेजको घोषणा गरेको छ । अमेरिकी सिनेटले यो सम्बन्धी प्रस्ताव पास गरेको छ । यसैका कारण अमेरिकी सेयर बजार डाउजोन्समा समेत उछालको अवस्था देखियो, त्यसको प्रभाव समेत भारतीय सेयर बजारमा परेको बताइन्छ । 

मंगलबार डाउजोन्समा ११.३७ प्रतिशतको बढोत्तरी भएको थियो ।