काठमाण्डौ । मुलुकमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा उल्लेख्य सुधार आएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकअनुसार रेमिट्यान्समा उल्लेख्य सुधार देखिएको हो। समीक्षा अवधिमा रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ। यो अघिल्लो महिना वैशाखको तुलनामा १ खर्ब ७ अर्ब रुपैयाँले बढी हो। वैशाखसम्म रु. १० खर्ब ५ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको थियो। 

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ४.१ प्रतिशतले बढेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४,५९,४१५ पुगेको छ। त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २,६०,२६२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो।