काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमबार आगामी मंसिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन प्रकारमा कुल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने लागेको हो ।

बैंकले जारी गरेको सूचनाअनुसार कुल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गरिनेछ भने बाँकी २० अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिनेछ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्टाइएको छ भने ९१ दिनेका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिनेका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंसिर ५ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले कात्तिक २४ गते १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो ।