nepal sbi bank ltd.
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई १० बराबर ४ अर्थात ४० प्रतिशतको दरले हकप्रद सेयर वितरणको घोषणा गरेको छ ।
बैंकले बोनस सेयर वितरण तथा एफपीओपछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद वितरणको निर्णय गरेको हो ।
नेप्सेमा प्रकाशित एक सूचनाका अनुसार सोमबार बसेको बैंकको ४०० औं बोर्ड बैठकले कल १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३ सय ६० रुपैयाँ बराबरको हकप्रद निश्कासनको निर्णय गरेको हो ।
बैंकले यसअघि सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।
यो बैंकको हाल चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । २८ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ४ अर्ब ९६करोड रुपैयाँ पुुग्नेछ ।
यसैगरी, बैंकले सेयर संरचना मिलाउन ६७ हजार ७ सय ६७ कित्ता सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भन्दै प्रिमियम समेत जोडी प्रति कित्ता ९८४ रुपैयाँ मूल्य तोकी स्वीकृतिका लागि धितोपत्र बोर्डमा पेश गरिसकेको छ । केन्द्रीय बैंकको नीति अनुसार बैंकमा कम्तीमा ३० प्रतिशत सेयर स्वामित्व पब्लिकको हुनुपर्ने व्यवस्था अनुसार सेयर संरचना मिलाउन यो बैंकले एफपीओ गर्न लागेको हो । हाल यो बैंकमा प्रोमोटर सेयर र पब्लिक सेयरको स्वामित्व संरचना ७०.१२ : २९.८८ प्रतिशत रहेको छ । एफपीओ जारीपछि प्रोमोटर र पब्लिक सेयरधनीको स्वामित्व ७०ः३० को हुनेछ ।
बैंकले बोनस र एफपीओपछि हुन आउने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद वितरणको घोषणा गरेपछि नेपाल राष्ट्रबैंकको नीति अनुसार र समयसीमाभित्रै ८ अर्ब चुक्तापूँजी पुुग्ने विश्वास गरिएको छ । नेपाल राष्ट्रबैंकले देशका वाणिज्य बैंकहरुले ०७४ असार मसान्तभित्र चुक्तापूँजी ८ अर्ब पुरयाउनुपर्ने समय दिएको छ । यो सीमाभित्रै एसबीआईले तोकिएको पूँजी पुरयाउने स्पष्ट बाटो पक्रेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago