काठमाण्डौ । हाल कारोबार गरिरहेका ४१ वटा लघुवित्त वित्तीय संस्थामा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व रहेको पाइएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजन गरेको तथ्यांकअनुसार शेयर स्वामित्वका आधारमा विश्लेषण गर्दा २०७९ चैत मसान्तमा सञ्चालित ५९ खुद्रा कारोबार गर्ने लघुवित्तमध्ये ४१ वटामा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व रहेको पाइएको हो। 

बैंक तथा वित्तीय संस्थाको स्वामित्व नरहेको २२ संस्थामा प्राकृतिक व्यक्ति तथा कम्पनीको लगानी रहेको छ। त्यसैगरी वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने गैरसरकारी संस्थाबाट लघुवित्तमा परिणत भएका २७ वटा संस्थामा विगतमा लघुवित्त कार्यक्रम गरेका गैरसरकारी संस्थाहरुको उल्लेख्य स्वामित्व रहेको छ । वाणिज्य बैंकहरुको सहायक कम्पनीका रुपमा सञ्चालित ५ लघुवित्त वित्तीय संस्थामध्ये ४ संस्थामा मुख्य लगानीकर्ताको रुपमा बैंकका साथै अन्य प्राकृतिक व्यक्ति वा कम्पनीहरु छन्। बाँकी एक संस्थामा संस्थापक सेयरधनी वाणिज्य बैंकको ७० प्रतिशत स्वामित्व रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ।

२०७९ चैत मसान्तमा कुल ५९ वटा खुद्रा कारोबार गर्ने संस्थामध्ये अधिकांश (७० प्रतिशत) संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँभन्दा कम रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। नौवटा संस्थाको १० करोड रुपैयाँभन्दा कम र दुईवटा संस्थाको २ अर्बभन्दा बढी चुक्तापुँजी रहेको छ। ३२ वटा संस्थाको चुक्तापुँजी १० करोड रुपैयाँदेखि ५० करोडसम्म रहेको देखिन्छ।

यसरी न्यूनतम २ करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँभन्दा धेरै चुक्तापुँजी भएका लघुवित्त सञ्चालनमा छन्।