-मनिष सोती
काठमाण्डौ । बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४.३८ प्रतिशत जनसंख्यामा पुगेको छ । 

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म बीमाको दायरा ४४.३८ प्रतिशत जनसंख्यामा पुगेको हो । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष बीमाको दायरा ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष बीमाको दायरा ४१.३९ प्रतिशत जनसंख्यामा पुगेको थियो । 

नेपाल बीमा प्राधिकरणले गत वर्ष बीमाको दायरा बढाउनका लागि जीवन तथा निर्जीवन बीमा कम्पनीलाई बीमा सचेतना कार्यक्रम गर्नुपर्ने निर्देशन दिएको थियो । प्राधिकरण आफैंले पनि विभिन्न क्षेत्रमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु गर्दै आइरहेको छ । तर, गत वर्ष बीमाको दायरा प्राधिकरणले सोचे जस्तो भने बृद्धि भएको छैन । 

यसका साथै गत आर्थिक वर्षको अन्त्यसम्म बीमा कम्पनीहरुको व्यवसायमा समेत खासै सुधार भएको देखिएको छैन । प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीले एक खर्ब ८२ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा जम्मा २.६८ प्रतिशतले मात्रै बढी हो । 

प्राधिकरणले सोचेजस्तो बीमा कम्पनीहरुको प्रिमियम कलेक्सन पनि बृद्धि हुन सकेन । अर्थतन्त्र सुस्ताएको कारण गत वर्ष सोचेजस्तो बीमा कम्पनीहरुको व्यवसाय बढ्न नसकेको बीमा विज्ञहरु बताउँछन् । अघिल्लो वर्ष बीमा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । 

गत वर्ष जीवन बीमा कम्पनीहरुले मात्रै १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ प्रिमियम उठाएका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २१ करोड रुपैयाँ  संकलन गरेका छन् । 

त्यस्तै, जीवन बीमालेख संख्या समेत ७.९२ प्रतिशतले बढेर १ करोड ४१ लाख ३७ हजार पुगेको छ, भने निर्जीवन बीमालेख संख्या ०.१६ प्रतिशतले बृद्धि भई २७ लाख ९२ पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी वैदेशिक रोजगार बीमालेख सख्या ८२.८७ प्रतिशतले बृद्धि भएर १६ लाख २९ हजार ५७५ पुगेको छ ।  अघिल्लो वर्ष यस्तो बीमालेख संख्या जम्मा ८ लाख ९१ हजार ११३ मात्रै रहेको थियो ।

नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि वैदेशिक रोजगार बीमा अनिवार्य गरेसँगै यस्तो बीमालेखको संख्या बृद्धि हुन पुगेको हो । २–३ वटा कम्पनीले मात्रै बिक्री गर्दै आएको यो बीमालेख सरकारले अनिवार्य गरेपश्चात् १० वटा जीवन बीमा कम्पनीले बिक्री गरिरहेका छन् ।